उपत्यकाका ९४३ सहित थपिए १९ सय ११ संक्रमित, मृत्यु हुने ५ सय नाघ्यो
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १५, बिहिबार
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुर गरेर उपत्यकामा २४ घण्टामा ९४३ जनामा संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै ठूलो संख्यामा भेटिएका संक्रमित हुन् ।
काठमाडौं जिल्लामा मात्र २२७ महिला र ५४५ पुरुष गरेर ८१७ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ३० महिला र ३८ पुरुष गरेर ६८ र भक्तपुरमा २६ महिला र ३२ पुरुष गरेर ५८ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ९४३ सहित देशभर १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।
यसैगरी आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै आजसम्म मृत्यु हुने संक्रमितको संख्या ५ सय ९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र चार जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका दुई ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।
देशभर २१ हजार ८ सय ३० जना सक्रिय संक्रमितहरु रहेका छन् र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय

