STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेड निर्माणको तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार

विजयरत्न असंबरे –


उपत्यकामा संघीय सरकार र स्थानीय तहले एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदाय स्तर मै कोभिड—१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको हो भने उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच आज भएको छलफल पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिदैँ एकीकृत आइसोलेसन निर्माणमा केन्द्रित रहेको बताइएको छ । रक्षा मन्त्रालयमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुले जारी निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गर्दै उपत्यकाकामा तिव्र गतिका साथ एकीकृत आइसोलेसन निर्माणमा गर्नुपर्नेमा जोड दिनु भएको थियो भने नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जारी निषेधाज्ञाको पूर्ण सदुपयोग गर्दै उपत्यकामा गुणस्तरीय एकीकृत क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको कुरा बताउनु भयो । उहाँले उपत्यका नगरपालिका फोरमको सुझावपछि सरकारले उपत्यकामा कम्तीमा ६ हजार एकीकृत आइसोलेसन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा निषेधाज्ञा अवधी भित्रै आइसोलेसन निर्माण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो । छलफलमा क्वारेन्टिनस्थल र आइसोलेसन निर्माणका लागि स्थानीय तहले स्थान तोक्न समन्वय गर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार छलफलमा मन्त्री पोखरेल र ढकालले उपत्यकामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नियन्त्रण र रोकथामका लागि संघीय, प्रदेश र स्थानीय तहको समन्वय अत्यावश्यक भएको बताउनुभएको थियो । सरकारले क्वारेन्टिनस्थल र आइसोलेसन राख्दा प्रति व्यक्ति १ सय ७५ रुपैयाँ मात्रै खर्च गर्ने मापदण्ड बनाएको भन्दै त्यसमा थप गरी कम्तीमा पाँच सय पुर्याउन मेयर फोरमका पदाधिकारीले माग गरेको र दुबै मन्त्री सकारात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पनि उपत्यकामा एकीकृत क्वारेन्टिनस्थल र आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो । उहाँले अस्पताल र आइसोलेसन गरी करीब १० हजार बेड निर्माण गर्न सक्ने हो भने काठमाडौँ उपत्यका भित्र कोभिड–१९ विरुद्ध लड्न सकिने अनुमान गर्नुभयो । सरकारले भदौ ४ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टिनको प्रवन्ध तथा व्यवस्थापन गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिसकेको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६,००० आइसोलेसन बेडको प्रबन्ध गर्ने । आवश्यकतानुसार थप गर्दै जाने पनि निर्णय पनि सरकारले गरेको छ । उपत्यका नगरपालिका फोरमको बैठकले पनि उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्ने तयारी समेत गरेको छ । बैठकमा उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र गृहसचिव महेश्वर न्यौपाने पनि सहभागी हुुनुहुन्थ्यो ।
Categorized in उपत्यका