STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाव्यापी पञ्चाभिषेक रूद्री सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २६, बिहिबार

काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्री समापन समारोह सम्पन्न भएको छ ।

राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

१०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ख पाठ गरिएको थियो भने १० हजार संख्याको अयुताहुति यज्ञसमेत सम्पन्न गरिएको थियो । अन्तिममा भजन र आरतीसमेत गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसमेत कार्यक्रममा उपस्थित भई पूजामा सरिक भएका थिए । साथै मन्त्री श्रेष्ठले काठमाडौंका ओमधरानन्द राजोपाध्यायबाट संकलित कान्तिपुरको रूद्राभिषेक पद्धतीको पुस्तक समेत सार्वजनिक गरेका थिए ।

कार्यक्रमलाई महादेव मखन क्लबले सहयोगी संस्थाको रुपमा साथ दिएको थियो ।

कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गत वर्षको श्रावण १२ गतेबाट काठमाडौं उपत्यकाका तीनवटै शहरहरुको शिवालयमा एकै दिन र एकै समयमा पाँच पाँच जना देव ब्राह्मणहरुबाट पञ्चाभिषेक रूद्रीको शुरुवात गरेको थियो ।

एक वर्षसम्ममा मासिक रुपमा गर्ने गरी शुरु गरिएको कार्यक्रम अन्तर्गत गत असार ११ गतेका दिन १२ औं पटकको रूद्री कार्यक्रम पनि सम्पन्न भइसकेपछि समाजले भव्य धार्मिक अनुष्ठान गर्दै औपचारिक समापन गरेको हो ।

सबैको साथ र सहयोग रहे यस किसिमका कार्यक्रम हरेक वर्ष गर्दै जाने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।

Categorized in उपत्यका