STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपसभामुख इन्दिरा रानामाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ८, मंगलबार

 

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका छन्। ढकालले उपसभामुखको विषय पार्टी मात्रको विषय नभइ देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनुपर्ने बताएका हुन्।

उनले आर्थिक लेनदेन भएकाले छानबिन गर्नुपर्ने बताए। ढकालले भने,‘उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ। मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु ,आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न।’ 

ढकालले ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको दाबी गरे। उनले ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित रहेको उल्लेख गरे।

पीडितका अनुसार १ वर्ष अगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो  र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन्। 

आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरेपनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनको भनाई छ। आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै  ढकालले राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको उद्घोष गरे।

ढकालले भने,‘अझै पनि ,ती ५ जनालाई खोजी गरि तिनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो।  यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो। राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु। ’

उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै पीडितसँग पैसा लिएको र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएपछि पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा पीडित महिला आएको ढकालको भनाई छ। 

ढकालले उपसभामुख रानाले तत्काल पदबाट राजीनामा दिएर आफूमाथि छानविनका लागि स्वंय तयार हुनुपर्ने माग गरेका छन्। ‘विगतको छवि उच्च रहे पनि, छानविनका लागी तयार हुन नपर्ने केहि कारण नै छैन।  उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूमाथि छानविनका लागि स्वंय तयार हुनपर्छ।  छानविनका लागि तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ।’ उनले भने,‘छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागि हाल्छ।  तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ।’

Categorized in राजनीति