STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एआई नीति ल्याउँदै सरकार

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ६, बिहिबार

काठमाडौं - सरकारले एआई पोलिसी (कृत्रिम बौद्धिकता नीति) ल्याउने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एआई नीति ल्याउने तयारी गरेको बताएकी छन्।

संसदमा मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले आगामी आर्थिक वर्षमा एआई नीति ल्याइने बताइन्। त्यसका लागि तीव्ररूपमा काम भइरहेको समेत उनको भनाइ छ। 

एआई नीतिको अवधारणा तयारीका लागि स्रोतको व्यवस्थापनदेखि त्यसको प्रयोग र नियमनका विषयमा पनि काम भइरहेको उनले बताइन्। 

'सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम् प्रविधिको उपयोग गर्न आगामी आर्थिक वर्षमा कृत्रिम बौद्धिकता नीति (एआई पोलिसी)को अवधारणा तयारीको कार्य भइरहेको छ। साथै नीति तर्जुमाको कार्यलाई तिव्रता दिन आवश्यक स्रोतको व्यवस्था गरिएको छ।

एआईको प्रयोग, प्रवर्द्धन र नियमनको लागि इको सिस्टम निर्माण गरिनेछ। तीव्र गतिमा रूपन्तारण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समय सापेक्ष बनाउँदै लैजाने मन्त्रालयको प्राथमिकतामा छ,' उनले भनिन्। 

त्यस्तै मन्त्री शर्माले साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको र २४ घन्टा/सातै दिन साइबर सुरक्षा केन्द्रलाई क्रियाशील बनाउँदै लैजाने बताइन्।

उनले साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने र साइबर सुरक्षासम्बन्धी विधेयक छिट्टै संसदमा पेस गरिने बताइन्। निजी क्षेत्रमा सञ्चालित डाटा सेन्टरको मापदण्ड निर्धारण गरी स्तरीकरण र नियमन गरिने मन्त्री शर्माको भनाइ छ।

Categorized in राष्ट्रिय