STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकल महिलाद्वारा गाउँमै रोजगारीको व्यवस्था

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३, मंगलबार

जिल्लाको घिरिङ गाउँपालिका–५ स्थित मोचाबारीकी एकल महिला सेतीमाया विश्वकर्माले गाउँका ११ एकल महिलालाई रोजगारी दिनुभएको छ । २८ वर्षको उमेरमा एकल महिला बन्नुभएकी सेतीमायाले शिव नर्सरी फार्म स्थापना गरेर उनीहरुलाई गाउँमै रोजगारीको व्यवस्था गर्नुुभएको हो । सेतीमायाले आफ्नै नाममा रहेको करीब तीन रोपनी क्षेत्रफल जग्गामा नर्सरी स्थापना गरी कफी, आँप, कागती, एभोकाडो ९नौनी फल० लगायतका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । “करीब तीन वर्षको अवधिमा फल दिन शुरु गर्ने जातका बिरुवा उत्पादन गरी बिक्री गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “प्रतिबिरुवा रु २०० मा बिक्री गर्छु ।” कफीका ४० हजार बोटमध्ये १० हजार बिक्री भइसकेका छन । उत्पादन गरेको आठ हजार एभोकाडोका बिरुवा सकिएका छन् भने आँप र कागतीका केही बिरुवा बाँकी छन् । एकल महिलाले नर्सरीमा बिरुवा उत्पादनका लागि पोलिब्यागमा माटो भर्ने, कफीका बिरुवा रोप्ने, माटो सङ्कलन गर्नेलगायतका काम गर्ने गरेका सञ्चालक सेतीमायाले बताउनुभयो । विसं २०७६ वैशाखदेखि नर्सरी स्थापना गर्नुभएकी उहाँले विभिन्न जातका बिरुवा उत्पादन गरेर रोजगारी प्रदान गर्नुका साथै आफ्नो घरखर्च राम्रैसँग चलाउँदै आउनुभएको छ । शुरुमा रु एक लाखबाट नर्सरी स्थापना गर्नुभएकी उहाँले हालसम्म करीब रु तीन लाख खर्च गरिसकेको बताउनुभयो । टिमुर, शितल चिनीलगायतका बिरुवा पनि उत्पादन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब ५० हजार बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरी रहेकाले अबको पालोमा बिरुवा उत्पादनमा वृद्धि गर्ने योजना बनाएको छु ।” विभिन्न स्थानमा पाइने बीउ नर्सरीसम्म ल्याइदिन अर्का नर्सरी सञ्चालक पुष्कर विश्वकर्माले सहयोग गर्दै आउनुभएको उहाँले बताउनुभयो । गाउँपालिकाद्वारा अनुदान घिरिङ गाउँपालिकाले नर्सरी सञ्चालक सेतीमायालाई रु एक लाख अनुदान सहयोग गरेको छ । उहाँले ५० प्रतिशत छुटमा एभोकाडोका बिरुवा उपलब्ध गराइएको बताउनुभयो । रु ७५ गाउँपालिकाको र रु ७५ कृषकले व्योहोर्ने गरी ७०० बिरुवा उपलब्ध गराइएको छ । एभोकाडोको बिरुवाप्रति स्थानीयको आर्कषण बढ्दै गएको छ । तीन वर्षको अवधिमा फल्न शुरु गर्ने एभोकाडो रोटी तथा पाउरोटीमा जामको रुपमा प्रयोग गरी खान सकिन्छ । खेती गर्न सजिलो हुने एभोकाडोमा सबै प्रकारका भिटामिन प्रचुरमात्रामा पाइने हुनाले यसतर्फ मानिसको आकर्षण बढ्दै गएको हो ।
Categorized in राष्ट्रिय