एकैदिन तीन दक्षता अभिवृद्वी कार्यक्रम सम्पन्न गर्याे चलचित्र बोर्डले
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र ३, मंगलबार
नेपाली चलचित्र क्षेत्रको प्राविधिक विकास, संस्थागत क्षमता अभिवृद्धि तथा चलचित्रकर्मीहरूको शारीरिक दक्षता बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले एकैदिन तीन कार्यक्रम सञ्चालनमा ल्याएको छ।
चलचित्रकर्मी दक्षता अभिवृद्वी बर्ष २०८२ को अवसरमा बोर्डको आयोजनामा हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी को प्रमुख प्रशिक्षणमा तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ मंगलबार सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएकाे उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार प्राविधिक तथा पत्रकारहरू सहभागी भएका छन्। तालिममा भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति तथा स्टुडियो डबिङ प्रक्रियासम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको छ।
यसैबीच बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम पनि सम्पन्न गरिएको छ। नेपाल सरकार स्टाफ कलेजबाट प्रशिक्षण प्रदान गरिएको तालिममा टिप्पणी लेखन, वैज्ञानिक फाइलिङ प्रक्रिया, बैठक व्यवस्थापन, प्रतिवेदन लेखन, अवधारणापत्र तथा कार्यशर्त (ToR) तयारी, प्रभावकारी प्रस्तुतीकरण, व्यावसायिक व्यवहार, स्व–व्यवस्थापन तथा कार्यालय व्यवस्थापन लगायतका विषय समेटिएका छन्। तालिमका प्रशिक्षकका रूपमा प्रमोद निरौला, शितल मोक्तान तामाङ र उत्तम आचार्य रहेका छन्।
त्यसैगरी कलाकारहरूको शारीरिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी (स्विमिङ) तालिम कार्यक्रम पनि आजबाट सुरु गरिएको बोर्डले जनाएको छ। चलचित्रमा विभिन्न पात्रहरूको भूमिका निर्वाह गर्ने क्रममा पौडिनु पर्ने, डुबेको अभिनय गर्नुपर्ने जस्ता दृश्यहरू आउने हुँदा कलाकारहरू स्वयं दक्ष नहुँदा डमी कलाकार प्रयोग गर्नुपर्ने वा कतिपय दृश्य हटाउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ। यस्तो बाध्यता अन्त्य गर्दै कलाकारहरूलाई आवश्यक शारीरिक दक्षतासहित यथार्थपरक अभिनय गर्न सक्षम बनाउन उक्त तालिम सुरु गरिएको बोर्डले जनाएको छ।
चलचित्र विकास बोर्डले आगामी दिनहरूमा पनि चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ। बोर्डका अनुसार चैत्र ३ गते भ्वाइस एक्टिङ एण्ड डबिङ तालिमको समापन कार्यक्रम, चैत्र ९ र १० गते एआई कन्फरेन्स, तथा चैत्र ११, १२ र १३ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चलचित्र महोत्सव आयोजना गरिनेछ।
बोर्डका अनुसार प्राविधिक सीप, संस्थागत दक्षता र शारीरिक क्षमतालाई एकैसाथ सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रमहरूले नेपाली चलचित्र उद्योगलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Categorized in सिनेमा

