STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै दिन १६६ जनामा संक्रमण, आठजनाको मृत्यु पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १८, आइतबार

काठमाडौं – नेपालमा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसैगरी, नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु भइसकेका दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै मृतकको संख्या आठ पुगेको हो । यसअघि नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भएको थियो । प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको हो । दैलेखका पुरुषको शनिबार मृत्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । बाजुराको बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो।बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी हुन् । भारतबाट आएपछि उनीहरुलाई बुढिगंगा नगरपालिका(१ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो । बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवासमेत राखिएको थियो । बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले बताएका थिए । सुरुमा धुरालशैन क्वारेन्टाइनमा उपचार गरिए पनि निको नभएपछि सदरमुकामको आइसोलेसनमा रिफर गरिएको थियो । मृतक बालिकाकी आमाको समेत पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको थियो । यसैगरी, नेपालमा कोरोना जित्नेको संख्या भने २ सय २० पुगेको छ । आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २ सय २० पुगेको छ । जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन् । आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो ।
Categorized in राष्ट्रिय