एकै दिन ६८ जनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार
काठमाडौं – शनिबारमात्र नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो भने दिउँसो थप ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चारजना छन् । आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरुषको पिसिआर रिपोर्टसमेत पोजिटिभ आएको हो । त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको छ । नरैनापुर–३ बाँकेको राष्ट्रिय प्रावि गोगलीका १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरु १६ देखि ३२ वर्षका पुरुष हुन् । नरैनापुर बाँकेकै ६ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु २२ देखि ५० वर्षका पुरुष छन् । बर्दियाका एकजना १९ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । त्यसैगरी सुर्खेतमा दुई पुरुष र एक महिलाको पिसिआर रिपोर्टसमेत पोजिटिभ आएको छ ।
Categorized in राष्ट्रिय