STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक हजारको आँखाको शल्यक्रिया

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिनुभयो । उपचार केन्द्रमा शल्यक्रियाका लागि गेटा आँखा उपचार केन्द्र धनगढीबाट सर्जन डाक्टरको टोली आउने गरेको छ । उपचार केन्द्रमा महीनाको अन्तिम शनिबार र दोस्रो शुक्रबार गरी शल्यक्रिया गरिन्छ । “जनशक्ति अभावमा उपचार केन्द्रमा दैनिक शल्यक्रिया गर्न सकिएको छैन”, नेत्र सहायक पुनले भन्नुभयो, “बिरामीलाई एक महीनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । जटिल समस्या भएकालाई गेटा आँखा अस्पतालमा रेफर गर्छौं । कुर्न सक्नेको यही गर्छौं ।” उपचार केन्द्रले गाउँगाउँमा गएर आँखा उपचार शिविर सञ्चालन गरेर उपचार र शल्यक्रिया सेवासमेत दिने गरिएको छ । केन्द्रमा चालू आवकोे ११ महीनामा ३२ हजार बिरामीले उपचार सेवा लिएका छन् । उपचार केन्द्रमा दैनिक दुई सय जनासम्म बिरामी आउँछन् । “दुई जना मात्र नेत्र सहायक छौँ । एक जनाले दैनिक सय जनासम्म बिरामी हेर्नुपर्छ”, पुनले भन्नुभयो, “बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म बिरामीलाई सेवा दिनुपर्छ ।” गत वर्षको तुलनामा यस वर्ष बिरामी बढी आएका छन् । उपचार केन्द्रमा औषधि, चस्मा, शल्यक्रियासहितका सेवा दिने गरिन्छ । यहाँ दुई जना नेत्र सहायक गरी सात जना मात्र कर्मचारी छन् । “टीकापुरमै सर्जन डाक्टर भएको भए दैनिक शल्यक्रिया सेवा दिन सकिन्थ्यो”, अर्का नेत्र सहायक कमल साउँदले भन्नुभयो, “जनशक्ति थप्ने बारेमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।” उपचार केन्द्रमा आँखामा एलर्जी भएका, आँखा पाकेका, मोतिबिन्दु, जलबिन्दु, आँखाको परेलाको उल्टो ढकनी भएका, मासु पलाएको समस्या भएका बिरामी बढी आउने गर्छन् । २०६५ सालमा स्थापना भएको आँखा उपचार केन्द्रमा कैलाली जिल्लासहित बर्दिया, सुर्खेत र भारतको तिकुनियाका नागरिक पनि उपचारका लागि यहाँ आउने गरेका छन् ।
Categorized in राष्ट्रिय