एपिक नेपाल म्युजिक अवार्ड चैत २ गते हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ फाल्गुण ४, आइतबार
यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल निगु पुखु दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ ।
एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शंखधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताए ।
उनले यस वर्षको अवार्ड प्रदानमा लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिने घोषणा गरे । पत्रकार सम्मेलनमा सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने उनले बताए ।
प्रत्येक विधामा उत्कृष्ट पाँच जनाको नाम छनोट भएकामा अब सर्वोत्कृष्ट एकको छनोट गरी अवार्डका लागि सिफारिस गर्न पाँच जनाको निर्णायकमण्डल गठन गरेको श्रेष्ठले बताए । कलाकार मिथिला शर्माको नेतृत्वमा निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्राश्ना शाक्य रहेको निर्णायकमण्डल गठन गरिएको उनले बताए ।
निवर्तमान नगरप्रमुख श्रेष्ठले भने, ‘प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा अब दुई वर्षमा आयोजना गरिने भएको छ, छैटौँ संस्करणको अवार्ड वितरण २०८३ मा हुनेछ ।’
Categorized in साहित्य-कला

