एमालेका सबै कार्यक्रम स्थगित, उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालयमा राखिने
Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २६, मंगलबार
काठमाडौं - नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ। एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज बिहान १ : ४० बजे निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने ज्ञवालीले बताए। ‘हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ। हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १:४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ।’एमालेका कार्यवाहक महासचिव ज्ञवालीले भने,‘शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’
एमालेका नेताहरु अहिले शिक्षण अस्पतालमा रहेका छन्। उनीहरुले नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासलमा लैजाने तयारीमा लागेका छन्। एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ। विदेशमा रहेका छोरा आएपछि नेम्वाङको अन्त्येष्टि हुने जनाइएको छ।
Categorized in राजनीति

