STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले सरकारबाट बाहिरिने, मन्त्रीहरुले आजै राजीनामा बुझाउँदै

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १५, सोमबार

काठमाडौँ - सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा (एमाले)बाट मन्त्री बनेका सबैले आजै राजीनामा बुझाउँदै छन् । बालुवाटारस्थित निवासमै गएर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउन लागेका हुन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित कुल ८ मन्त्री रहेकाेमा ७ जनाले आजै राजीनामा दिन लागेकाे बताइएकाे छ । मन्त्री हरि उप्रेती भने बिरामी रहेकाले उनकाे राजीनामा पछि बुझाइनेछ ।

पछिल्लो समय एकाएक चिसिएको माओवादी र एमालेबीचको सम्बन्ध तथा प्रधानमन्त्रीको दाउपेचका कारण आज एमालेले आकस्मिक सचिवालय बैठक डाकेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

सोमबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्रीले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएकोले उक्त निर्णय गरिएकाे बताए ।

प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको उनले आरोप लगाएका छन् । उहाँले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको समेत पाैडेलले आरोप लगाए ।

‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ । तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ ।’

प्रधानमन्त्रीकाे पछिल्लाे हर्कतबाट राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर पारेको  उनले बताए । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको उनकाे भनाइ थियाे ।

गत पुस १० गते एमालेसहितका दलहरूकाे समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पछिल्लाे समय कांग्रेससहितका ८ दलसँग गठबन्धन गरेपछि एमाले समेत सरकारबाट बाहिरिएकाे हाे । यसअघि रास्वपा र राप्रपा समेत सरकारबाट बाहिरिसकेका थिए ।

Categorized in राजनीति