एम्स आर्टिष्ट फुटसल प्रचारात्मक पत्रकार सम्मेलन सम्पन्न
Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ फाल्गुण १४, शुक्रबार
‘कलाकार देशको गर्व एवं सम्पत्ति हो, कलाकारको सम्बद्र्धन एवं सम्मान गरौं’ श्लोगानका साथ विगत चार बर्षदेखि निरन्तर रुपमा भाषा, कला संस्कृति र सम्पदा जगेर्ना गर्ने तथा सामाजिक जनचेतनामूलक एवं विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको निरन्तररुपमा आयोजना गर्दै आइरहेको एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले आउँदो फागुन २९ गते शनिबार मैत्रीपूर्ण एम्स आर्टिष्ट फुटसल कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त एम्स आर्टिष्ट फुटसल कार्यक्रम प्रचारप्रसारको लागि फागुन १३ गते बिहिबार कीर्तिपुर १ वडा बाघभैरवस्थित स्वंमा नेवाः रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना एम्स इन्टरटेन्टमेन्टले गरेको छ । उक्त पत्रकार सम्मेलन आयोजक एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.का अध्यक्ष सुरेन्द्र महर्जन तापाख्यःमिको सभापतित्वमा भएको थियो ।
पत्रकार सम्मेलनमा एम्स आर्टिष्ट फुटसल आयोजना बारे एम्सका अध्यक्ष एवं कार्यक्रमका सभापति सुरेन्द्र महर्जन तापाख्यःमिले जानकारीका साथ पत्रकारहरुको जिज्ञासालाई स्पष्ट पार्नुभएको थियो भने एम्सका सचिव राजेन्द्र महर्जन राजीले कार्यक्रम संचालनका साथ सार्वजनिक गरिएको विज्ञप्ति वाचन गर्नुभएको थियो ।
गत माघ २३ गते एम्सको चौथौ साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका कार्यकारिणी सदस्यहरुलाई सम्मानका साथ संचालन भएको उक्त पत्रकार सम्मेलन विभिन्न संचार माध्यमका संचारकर्मीदेखि विभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित लिजेन्डरी गायक भीम तुलाधर, बबिन प्रधानदेखि ईमेज च्यानलको कार्यक्रम ‘समेबजि’का कलाकारहरु, थिमिका चर्चित कलाकारहरु बालमुकुन्द प्रजापति, अनु खड्कादेखि कीर्तिपुरका कलाकारहरु शोभा महर्जन, सरीता बज्राचार्य एवं बिभिन्न कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा आउँदो फागुन २९ गते शनिबार एम्स आर्टिष्ट फुटसल चन्द्रागिरी नगरपालिका ९ वडास्थित मत्स्य रिक्रेशन सेन्टरमा हुने जानकारी दिइएको छ भने समापन चैत्र २४ गते कीर्तिपुरको चोभारस्थित मञ्जुश्री पार्कमा हुने जानकारी दिइएको छ । साथै समापनका दिन विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुतिका साथ म्यूजिकल पिकनिक हुने जानकारी पनि दिइएको छ ।
सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘फागुन २९ गते शनिबार मैत्रीपूर्ण एम्स आर्टिष्ट फुटसल प्रतियोगिता प्रवद्र्धनको निम्ति पत्रकार सम्मेलन गरेको हो । विगत ११ महिनादेखि कोभिड १९ महामारीका कारण आर्थिक, सामाजिक एवं मानसिक रुपबाट तनाब भइरहको अवस्थामा यो फुटसलबाट केही रिफ्रेसमेन्ट हुनेछ भन्ने अपेक्षाका साथ कलाकारबीचको सम्बन्ध एवं भातृत्व सुदृढ तथा सम्बन्ध विस्तार, कलाकार कलाकारबीच आत्मीयता बलियो बनाउने छ भन्ने विश्वास यो फुटसल प्रतियोगिताबाट एम्स इन्टरटेन्टमेन्टले लिएको छ ।’
आउँदो दिनमा पनि समाज, राष्ट्र र कलाकारहरुको हक, हित एवं अधिकारको लागि एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले निरन्तररुपमा पाईला अगाडि चालीरहने र चलचित्र, सर्टमूभि, म्यूजिक भिडियो तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्दै जाने एम्सको भावी योजना रहेको जानकारी पनि उक्त पत्रकार सम्मेलनमा विज्ञप्तिमार्फत् दिएको छ ।
सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, ‘एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले विगतका दिनहरुमा विभिन्न कार्यक्रम गर्दै म्यूजिकल इभेन्ट्स, म्यूजिकल पिकनिक, राफ्टिङ, कलाकार सम्मान तथा कलाकारहरुलाई भौतिक एवं आर्थिक रुपमा सहयोग गर्दै आइरहेको छ । एम्स इन्टरटेन्टमेन्टले कलाकारहरुलाई स्वास्थ्य क्षेत्रमा केही राहत होस भन्ने उद्देश्यका साथ एमआरआई (क्यापिटल डाइग्नोष्टिक सेन्टर पुतलीसडक), अल्ट्रासाउण्ड (काठमाडौं अल्ट्रासाउण्ड क्लिनिक, बागबजार) र सिटी स्क्यान (अरनिको मेडिकल डाइग्नोष्टिक सर्भिस, सीतापाईला)’ मा ३० प्रतिशतसम्मको आजीवन सेवा, यी संस्थाहरु रहेसम्म दिने र प्रत्येक दुई बर्षमा एम्स संस्थामा नवीकरण गर्नुपर्ने अनुसार सम्झौता भइसकेको छ र यो सेवाको लागि एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.मा सम्पर्क राख्नुहोला ।’
पत्रकार सम्मेलनमा एम्स आर्टिष्ट फुटसलमा भाग लिन फाराम भर्न कलाकारहरुले एकहजार रुपैंया दर्ता गर्नुपर्ने र उक्त एक हजार रकमबाट चैत्र १४ गते हुने फुटसल समापन एवं म्यूजिकल पिकनिकमा पनि सहभागी हुनेपाउने जानकारी दिएको छ । साथैं म्यूजिकल पिकनिकमा गैरकलाकारहरु पनि सहभागी हुनपाउने जानकारी दिदैं सम्पूर्णलाई उक्त फुटसल एवं पिकनिकमा सहभागी हुन आह्वान गर्दै पत्रकार सम्मेलनका सभापति एवं आयोजक संस्था एम्सका अध्यक्ष सुरेन्द्र महर्जनले पत्रकार सम्मेलन समापन भएको घोषणा गर्नुभएको थियो ।


