ओम नमः शिवाय् गरी तीनवटा हल सञ्चालनमा आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र १०, बिहिबार
नेपालका एक अग्रज चलचित्र व्यवसायी उद्भव पौड्याल संस्थापक रहेको चाबहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले २०७८ चैत ११ गते शुक्रवारदेखि ओम, नम: तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ ।
गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले बुधबार एउटा प्रेस विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गर्दै तीन वटा हल सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।
नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको भएतापनि नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई दृष्टिगत गरेर गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै यही मिटि चैत ११ गते शुक्रवारदेखि ओम, नम: र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।
विज्ञप्तीमा गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माण कार्य चलिरहँदा पनि दर्शकको चलचित्र हेर्ने चाहनालाई सम्मान गर्ने उदेश्यले ओम, नम: तथा शिवाय गरी तीन वटा सिनेमा हललाई रातो, हरियो र निलो रंग (आरजिबी) को थिममा सचाएर उच्च प्रविधिका साथ सञ्चालनमा ल्याउन लागिएको उल्लेख छ ।
गुणस्तरिय प्रविधिसहित सञ्चालन हुने गोपिकृष्णका हलहरुमा चलचित्र हेर्ने दर्शकहरुले अद्वितिय अनुभव प्राप्त गर्नु हुनेछ भन्ने हामीले आशा राखेका छौं, विज्ञप्तीमा उल्लेख गरिए अनुसार शुक्रवारदेखि गोपिकृष्ण आरजिबीमा कश्मिर फाइल्स, आरआरआर तथा चिसो एष्ट्रे प्रदर्शन हुनेछन् ।
गोपिकृष्ण आरजिबीमा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालनमा आउने छन् । यसका साथै सिनेमा हलको क्याफटेरियासमेत पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराइएको छ ।
कुल पाँच सय सिट क्षमताका साथ सञ्चालनमा आउने गोपिकृष्ण आरजिबी सिनेमा हलमा प्रत्येक घण्टा शोहरु सञ्चालन हुनेछन् ।
यी सिनेमा हलमा सिमिति समयका लागि टिकट दर तीन सय रुपैयाँ मात्र कायम गरिएको समेत विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।


