कमलमा जोन र पकेट विस्तार हुने
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ८, बुधबार
झापाको कमल गाउँपालिकाले कृषि क्षेत्रको व्यावसायिक विकासका लागि विभिन्न कृषि उपजको जोन र पकेट विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले चालू आर्थिक वर्षदेखि ‘अध्यक्ष कृषि पकेट कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
उक्त कार्यक्रममार्फत कृषिमा आधुनिकीकरण गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषिको विकास कमल गाउँपालिका निकास’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कृषि प्रविधिको प्रयोगमार्फत निर्वाहमुखी र परम्परागत कृषिलाई आधुनिक, औद्यौगिक तथा व्यावसायिक कृषिमा रूपान्तरण गर्दै कृषिजन्य घरेलु तथा साना उद्योगको स्थापनामार्फत स्वरोजगार प्रवद्र्धनमा जोड दिइने गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।
कार्यक्रममा व्यावसायिक कृषकलाई विशेष गरेर नगदे बाली, मौसमी र बेमौसमी तरकारी, पुष्प व्यवसाय तथा फलफूल उत्पादनसम्बन्धी तालीम र अनुदानको व्यवस्था गरिने शाखाले जनाएको छ । कृषकले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि गाउँपालिकाले कृषिमेला, कृषि प्रदर्शनी, किसान दिवसजस्ता प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्नुका साथै हरेक वर्ष प्रत्येक वडाबाट एक उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत गरिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषि क्षेत्रको विकासका लागि उक्त कार्यक्रममार्फत रासायनिक मल र विषादीलाई न्यूनीकरण गर्न प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड दिइनेछ । यसका लागि आवश्यक कच्चा पदार्थमा कृषकको आफ्नै घरबाट निस्किएको फोहरलाई प्राङ्गारिक मल बनाउने अभियानको रुपमा अगाडि बढाउने अध्यक्ष काफ्लेले बताउनुभयो ।
कृषकलाई अतिरिक्त उत्पादन गराई आम्दानीमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिका क्षेत्रभित्र रहेका सडक किनारा, नदी किनारा खाली रहेको सार्वजनिक तथा निजी जमीनमा फलफूलका बिरुवा लगाउन गाउँपालिकाले बिरुवा वितरण गर्ने उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । कृषकले जथाभावीरूपमा रासायनिक मल र विषादी प्रयोग गरेका कारण माटोको उर्वराशक्तिमा ह्रास आएकाले यसै आर्थिक वर्षदेखि निःशुल्क माटो परीक्षण गराई कृषि चुन अनुदानमा उपलब्ध गराइने तथा नदी किनारा बगरखेतीलाई प्रोत्साहन गरिने उपाध्यक्ष शिवाकाटीले जानकारी दिनुभयो ।
कृषि व्यावसायीकरणका लागि कृषि उपजको उचित मूल्य र बजारका लागि कृषकसँगको साझेदारीमा ड्रायर मेसिन, शीतभण्डार सञ्चालन गर्न व्यवसाय प्रवद्र्धन गर्न कोषमार्फत ब्याज अनुदानमा बीउ पूँजी परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय


