कमिशन नबढाएकाे निहुँमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प, पेट्रोलपम्पमा लाइन
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १९, शनिबार
काठमाडौं - नेपाल आयल निगमले आन्दोलन स्थगित गर्न राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ ।
निगमले शुक्रबार विज्ञप्ति जारी गरी निगमका कार्यकारी निर्देशक र पदाधिकारी अहिले सम्झौता नवीकरणका लागि भारतमा रहेको पनि जनाएको छ ।
कार्यकारी निर्देशकसहितका पदाधिकारी आएपछि पेट्रोलियम विक्रेता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग सङ्घका माग सम्बन्धमा आवश्यक निर्णय लिने निगमले जनाएको छ ।
व्यवसायीले विभिन्न माग राख्दै इन्धनको ढुवानी ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण मुलुकभर इन्धनको हाहाकार मच्चिने सम्भावना बढेको छ ।
व्यवसायीले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको ढुवानी रोकेका हुन् । सरकारले कमिसन नबढाएको विरोधमा व्यवसायीले आन्दोलन सुरु गर्दा उपभोक्ता मारमा परेका छन् ।
पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढे पनि नेपाल आयल निगमले भाडा नबढाएको र कमिसनसमेत नदिएको भन्दै अतिआवश्यकीय वस्तु ढुवानी रोकेर व्यवसायी विरोधमा उत्रिएका हुन् ।
Categorized in बिजनेस

