STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीमा चिसो बढ्योः पुनः हिमपात, जनजीवन कष्टकर

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ३, शुक्रबार

कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको साताँै पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन् । जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताउनुभयो । “धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्यहम्य भएको छ । जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताउनुभयो । हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उहाँले दुखेसो व्यक्त गर्नुभयो । चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन् । सरकारी कामकाज नियमित कामकाज हुन सकेको छैन । हिमाली जिल्लामा बढेको चिसोका कारण सेवाग्रहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना गरेको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तात्तानो चीज खान सन्देश प्रवाह गरेको छ । मौसम पूर्वानुमान महाशाखा काठमाडौँले आज गरेको प्रादेशिक साप्ताहिक मौसम पूर्वानूमानअनुसार कर्णाली प्रदेशका पहाडी जिल्लामा वर्षा हुनुका साथै हिमाली जिल्लामा भारी हिमपात हुने सम्भावना देखाएको छ । आजबाट शुरु भएर बिहीबारसम्म उच्च हिमाली भेकमा हिमपात र पहाडीमा भेकमा वर्षा हुने तालिका महाशाखाले सार्वजनिक गरेको छ ।
Categorized in राष्ट्रिय