STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीमा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर

Janjati Khabar – जनजाति खबर | २०७६ पौष १८, शुक्रबार

कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले राससलाई जानकारी दिनुभयो । “बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन”, लामाले भन्नुभयो, “बर्सेनि यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।” हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पार्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभयो । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान सबैलाई आग्रह गर्नुभयो । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ । जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । मूलतः हिमपात र वर्षाले कृषक लाभान्वित हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । चिसोमै भए पनि बिहीबार जुम्लामा छाउगोठ भत्काउने महाअभियानको कार्यक्रम सम्पन्न गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले राससलाई जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयमा बिहीबारदेखि चिसो बढेकोले काम गर्न गाह्रो भएको बताउनुभयो । “जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको छ, यद्यपि आगो बालेर भए पनि नियमित सेवा प्रवाह हुन्छ न”,, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो । कतिपय आकस्मिक काम यही समय हुने भएकाले सेवाग्राहीलाई समस्या नहोस् भनेर कार्यालय खुला नै रहने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताउनुभयो ।
Categorized in राष्ट्रिय