कर नतिर्नेका घर दैलोमा महानगरको माइकिङ्ग
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ९, बुधबार
घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर काठमाडौं महानगरपालिकाले आज सेवा रोक्का गर्ने सूचना टाँस गरेको छ । महानगरको राजस्व विभागले भदौ २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो । यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति/व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति/व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुने कुराको जानकारी महानगर कार्यालयले गराएको छ ।
आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना ट्रेड सेन्टर, केशा प्रपर्टीज प्रा. लि., आर. वी. कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।
राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा गएको टोलीमा नगर प्रहरी र महिला नौमती श्रमिक सहकारी समूहका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।
करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो । यसैगरी महिला सहकारीको टोलीले पञ्चेबाजामा महिला बाजा नमान्नु भारी
कर तिर्दिए हुनेथ्यौँ आभारी बोलको गीतमार्फत कर तिर्न आउन अनुरोध गरेको थियो ।
Categorized in उपत्यका

