कलाकारहरूबीच २९ गते फुटसल प्रतियोगिता
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २३, आइतबार
नेपालभाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । 'एम्स आर्टिस्ट फुटसल' नाम दिइएकाे प्रतियाेगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएकाे छ ।
काठमाडौं उपत्यकाभित्रका तिनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचकाे भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताकाे तयारी थालेकाे बताइएकाे छ । प्रतियोगितामा सहभागी हुन कलाकारहरूलाई एम्स इन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा आह्वान गरेकाे कुरा अध्यक्ष सुरेन्द्र महर्जनले जनाए । काेभिड- १९ काे कारणले महिनाैंसम्म निष्कृय रहेकाे कलाकर्मलाई पुनः सुचारू गर्नमा कलाकारहरूलाई मैत्रीपूर्ण फुटसलले थप प्राेत्साहित गर्ने संस्थाका सचिव राजेन्द्र (राजी किपू) महर्जनले दाबी गरे । फुटसल प्रतियोगिताकाे समापन कार्यक्रम चैत १४ गते कीर्तिपुरमा हुने अायाेजकले जनाएको छ ।
कलाकार राष्ट्रका गर्व तथा सम्पत्ति हुन्, उहाँहरूलाई प्रबर्द्धन र सम्मान गराैं भन्ने नाराका साथ अघि बढेकाे यस संस्थाले केही वर्ष यतादेखि कलाकारहरूकाे हकहित तथा व्यावसायिक कलाकारिता प्रबर्द्धनमा काम गर्दै आएकाे छ । संस्थाले यसअघि समस्यामा परेका कलाकारहरूलाई आर्थिक र भाैतिक सहयाेग गरेकाे बताइएको छ । त्यस्तै कलाकारहरूकाे स्वास्थ्यलाई मध्यनजर गरि बागबजारस्थित काठमाडौं अल्ट्रासाउन्ड क्लिनिककाे उपचार खर्चमा ३० प्रतिशत आजिवन छुटकाे लागि सम्झाैता गरिसकेकाे छ ।
Categorized in साहित्य-कला

