STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौं ः मुख्यमन्त्री शाही

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रुपमा विकास गरिने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज बिहान आयोजित सरसफाइ तथा वृक्षरोपन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।” मुख्यमन्त्री शाहीले काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने बताउँदै ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनामा प्रदेश सरकार रहेको धारणा व्यक्त गर्नुभयो । स्वच्छ र सफा वातावरण बिना मानव जीवनको अस्तित्व सङ्कटमा पर्ने भन्दै उहाँले जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वयनमार्फत सरसफाइ तथा स्वच्छताको प्रवद्र्धन गरिने बताउनुभयो । मुख्यमन्त्री शाहीले वातावरणको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै वातावरण संरक्षणमा सबै क्षेत्र गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । विश्व वातावरण दिवसका अवसरमा आज मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय क्लबहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाइ गर्नाका साथै वृक्षरोपन गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । “हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौँ लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
Categorized in राष्ट्रिय