STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 
पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ । 
पार्टीका महाधिवेशन प्रतिनिधिले प्रदेशस्तरीय प्रशिक्षण गर्ने, काङ्ग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण गर्ने भएको छ । 
यस्तै सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा लोकतन्त्रका लागि काङ्ग्रेस भेला आयोजना गर्ने र समसामयिक राष्ट्रिय विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । 
काङ्ग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काङ्ग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने, काङ्ग्रेसका क्रियाशील सदस्य नवीकरण गर्नुपूर्व प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । 
Categorized in राजनीति