STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो । कार्यक्रमलाई छोटो र छरितो बनाउने नाममा आसन र भाषणमा देशभरी महिलाले मौका नै नपाउने अवस्था देखिएपछि उनीहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेत्री डिला सङ्ग्रौला, पुष्पा भुसाललगायतलाई एकहप्ता अगाडि ध्यानाकर्षणपत्र बुझाएका थिए । महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले आफूले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै सच्याउने आश्वासन दिनुभएको थियो । उहाँको आश्वासन अनुसार पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र शुक्रबार जारी गर्दै हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिएको छ । जागरण अभियानका कार्यक्रममा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिको मात्र आसन ग्रहण र उनीहरूकै मात्र भाषण हुने तालिका रहेकोमा अव महिलावक्ता पनि थपिएका छन् । मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम बहिष्कार गर्नेसम्मका चेतावनी नेतृहरुले दिएपछि पार्टीले परिपत्र सच्याउन बाध्य भएको महासमिति सदस्य निमा गिरीले बताउनुभयो । “देशको संविधान र पार्टीको विधानमा उल्लेख गरिएको समावेशीतालाई ख्याल गर्न माग गर्दै हामीले नेतृत्वको ध्यानाकर्षण गराएका थियौँ, उहाँहरुले गल्ती महसुस गरी सच्याउनु भयो, यसले समावेशीतालाई नेतृत्वले अस्वीकार गर्न सक्दैन भन्ने पुष्टी भएको छ,” गिरीले भन्नुभयो । काङ्ग्रेसले एक महीने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा शुरु गर्न लागेको छ ।
Categorized in राजनीति