काठमाडौँमा दोलखा नेवार भाषामा नाटक ‘मिसामी’
Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १४, बुधबार
काठमाडौँ - काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो ।
न्यूयोर्क विश्वविद्यालय आबु धाबीमा सन्दर्भ सामाग्रीका रूपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई न्युयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियानअन्तगर्त दस्ताबेजीकरणका लागि नाटक मञ्चन भएको हो ।
नाटक हेर्न सो विश्वविद्यालय आबुधाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरू नेपाल आएका थिए । उनीहरूले नाटक निर्माणको प्रक्रियासमेत अध्ययन–अवलोकन गरेका थिए । करिब ३० वर्षअघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीको समूह नेपाल आएको हो ।
नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालीन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ ।
२०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दशैंको खड्गजात्राको दिन मञ्चन भएको थियो । हाल न्युयोर्क विश्वविद्यालयका लागि न्युज नेपाल प्रालिले ‘मिसामी’लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो ।
Categorized in साहित्य-कला

