STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिकाका मेयरले गरे बाढीग्रस्त क्षेत्रका तीन पालिकालाई आर्थिक सहयोग प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ८, मंगलबार

सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि तीन  करोड रुपिंया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख रुपिंया   आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ ।

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुग्नु भएका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।

मेयर   शाक्यले यहाँको क्षतिको हिसाबमा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको पनि बताउँदै मेलम्चीसँग स्थापित भएको   भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउनु पनि भनि  ।  

उहाँले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताउनुभयो ।   

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै मेलम्चीबासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएकोमा मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु भनि भन्नुभयो । ,उहाँले बाढीग्रस्त क्षेत्रको  समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।  

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिंदै यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ भनि भन्नुभयो । उहाँले  भगिनी सम्बन्धलाई यो सहयोगले थप बलियो बनाएको र यसकालागि काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ  भनि भन्नु भयो ।

कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडौं महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि  १ करोड ५० लाख रुपिंया अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

Categorized in उपत्यका