STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिकाद्वारा लकडाउन अवधिमा पनि पूर्वाधार विकासका कामलाई निरन्तरता

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २२, बिहिबार

विजयरत्न असंबरे


लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिनुभयो । ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भन्नुभयो, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ । बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ ।’ उहाँले जयबागेश्वरीमा केही दिन अघि मात्रै शिलान्यास गरेको पुल निर्माणको कामलाई पनि निरन्तरता दिने बताउनुभयो । ‘जयबागेश्वरीको पुल दशैँ भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ उहाँले भन्नुभयो, ‘चावहिलको पुल निर्माणको काम निरन्तर अघि बढिरहेको छ ।’ जयबागेश्वरीको सार्न मिल्ने आकाशे पुलको शिलान्यास संघीय सांसद् गगनकुमार थापाले गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा प्रदेश सांसद नरोत्तम बैद्यलगायत सहभागी हुनुहुन्थ्यो । महानगरपालिकाका काममा संघीय र प्रदेश सांसदहरुले समेत सहभागिता जनाउँदा विकास निर्माणका कामलाई दू्रततर गतिमा अघि बढाउन थप सहज हुने महानगरपालिकाको बुझाई छ । ‘आर्थिक वर्ष २०७६/०७७ मा महानगरपालिका क्षेत्र भित्रका विभिन्न ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ थापाले भन्नुभयो, ‘सोही अनुरुप अहिले चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढाएका छौँ ।’ ‘हामीले यही आर्थिक वर्षमा चावहिल, जयबागेश्वरी, सिंहदरबार अघि, नयाँ बानेश्र्वर, कोटेश्वरलगायतका स्थानमा यस्ता पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौँ । कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ ।’ करीब २ सय करोडका आयोजनाहरु चालु अवस्थामा रहेको कुरा पनि उहाँले जनजातिखबर लाई जानकारी दिनुभयो । उहाँले महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि बन्दाबन्दीका बेला समेत निरन्तरता दिएको जानकारी दिनुभयो । महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ । काठमाडौँ महानगरपालिकाले जिवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ जारी गरिसकेको छ । बन्दाबन्दीको अवस्था लम्बिदै गएको खण्डमा श्रममा आधारित पारिश्रमिकको व्यवस्थाका लागि कार्यविधि नै जारी गरेको महानगरपालिकाले त्यस्ता श्रमिकहरुलाई सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्हार, ढल निर्माण तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौदर्यीकरण, फाहोर–मैला व्यवस्थापन जस्ता काममा लगाउने तयारी गरेको छ ।
Categorized in राष्ट्रिय