काठमाडौँ महानगरपालिकाबाट निःशुल्क पीसीआर परिक्षण आरम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १४, शुक्रबार
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटरहरु उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । जानकारी अनुसार महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।
महानगरपालिकामार्फत गरेको यो सहयोगले राजधानीबासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा लिएको कुरा उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका मेयर शाक्यले बताउनु भयो । उहाँको अनुसार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट संचालनमा ल्याइसकेको छ भने कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि संचालन हुने देखिन्छ ।
मेयर शाक्यले महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरुलाई पीसीआर मेसिन, मनिटर र बेड उपलब्ध गराएको पनि जानकारी दिनुभयो । विभिन्न अस्पताललाई उपलब्ध गराएका मध्ये केही भेन्टिलेटर, पीसीआर मेसिनलगायतका सामग्री भगिनी सम्बन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् ।
कोभिड संक्रमित बिरामी तथा आफन्तहरुलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएका छौँ तथा बिरामीहरुलाई अस्पतालमा पुग्न सहज होस भनी कोभिड १९ का बिरामीका लागि फोन नं. १०२ मार्फत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको कुरा मेयर शाक्य बतायँछन् । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् तथा हालसम्ममा महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जानकारी दिएको छ ।
कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगसँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टीजेन परीक्षण संचालन गरेको तथा पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेकालगायतलाई समेट्ने कुरा मेयर शाक्यले बताउनु भयो । महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ड खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जानकारी दिएको छ ।
मेयर शाक्यले जनचेतना अभिवृद्धिका लागि ४ वटा शिविर मार्फत २४ हजारलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको र जात्रापर्व (शिवरात्री र सेतो मछिन्द्रनाथ लगायत) मा घुम्ती स्वास्थ्य शिविर संचालन गरिएको र ५ वटा गाडी मार्फत टोल टोलमा माइकिङ्ग गरी स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो ।
Categorized in उपत्यका

