STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिका कर्मचारीको खर्चमा व्यापक कटौती

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १९, सोमबार

विजयरत्न असंबरे •


काठमाडौं महानगरपालिकाले सुशासन र मितव्ययितालाई प्राथमिकतामा राख्दै समग्र सुधारलाई अघि बढाउने कार्यको थालनी गरेको छ । यसैको फलस्वरूप महानगरपालिकाले अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गर्दै यस्तो कार्यको थालनी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारको खर्चमा मितव्ययिता गर्ने नीति र महालेखा परिक्षकको प्रतिवेदन (बेरुजु प्रतिवेदन)को सुझावलाई आधार मान्दै अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गरेको हो । काठमाडौको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहँदा थुप्रै सुधारका कार्यको थालनी गर्नुभएका अर्यालले काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले सँगै एकपछि अर्को गर्दै देखिने गरी सुधारका काम अघि बढाउन थाल्नु भएको छ । खर्च कटौतिको निर्णय पनि त्यसैको एक सुरुवात हो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले मुुलुक नै कोरोनाको कहरबाट आक्रान्त बनिरहेका बेला सबै सरकारी कार्यालयमा सुशासन कायम हुने र मितव्ययिता अपनाउने हो भने राज्यलाई कर तिर्ने जनतालाई समेत ठूलो राहत हुने बताउनुभयो । उहाँले फोहोरमैला व्यवस्थापनमा खटिने चालक, कुचीकार र कोरोना कहरका बेला समेत प्रत्यक्ष रुपमा अग्रपङ्क्तिमा खटिने शहरी स्वास्थ्य महाशाखाका कर्मचारीलाई सुरु तलव स्केलको ५० प्रतिशत भत्ता यथावत राखी अन्य सबैको कटौती गरेको जानकारी दिनुभयो । सहसचिव राजेश्वर ज्ञवालीले पहिलो चरणमा धेरै खर्च हुने क्षेत्रमा तत्काल कटौती गरेको जानकारी दिनुभयो । यसैगरी इन्धन उपयोगका बिषयमा अध्ययन गर्न यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिको सदस्यमा इञ्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने हुनुहुन्छ । समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।
Categorized in उपत्यका