काठमाडौंका सडकमा सबै फोहर व्यवस्थापन
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ११, शनिबार
काठमाडौं - काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन् ।
यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ ।
केही दिनअघि कामपाका प्रमुख बालेन्द्र शाहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिएका थिए ।
कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।
पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यही नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हन्छ । अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
Categorized in उपत्यका

