काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म थप
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १०, बुधबार
काठमाडौँ – काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।
मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशन बमोजिम आदेश जारी गरिएको हो ।
निषेधाज्ञामा के के गर्न निषेध छ ?
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन समेत सञ्चालन गर्न पाईदैन ।
कोभिड१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् ।
अत्यावश्यक वस्तु वा सेवा अन्र्तगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।
क्ुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न र सभा जुलुस गर्न पाईँदैन । परम्परागत रुपमा र दैनिक रुपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईँदैन ।
त्यस्तै फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ्ग सेवालगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने छ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्र्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने छ ।
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने जनाइएको छ । उपत्यकामा पानी र औषधिजन्य सामग्री बिक्री गर्ने व्यवसाय जुनसुकै बेला पनि खुला रहने तर अन्य खाद्यवस्तु, दुध, तरकारी, फलफूलका व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।
छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।
यसअघि जारी गरिएको निषेधाज्ञा आज बुधबार राति १२ बजे सकिँदै छ ।
Categorized in उपत्यका