काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार
काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्
काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २–२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।
यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबार मात्र तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन्।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन १४ गते मृत्यु भएको हो। उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि विराटनगरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार नै ल्याइएको थियो। उनको पीसीआर परीक्षण गर्दा बुधबार नै कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
उनको मृत्यु बिपी प्रतिष्ठान धरानको आइसोलेसनमा बुधबार साँझ पौने पाँच बजे भएको हो।
त्यसैगरी पर्साको वीरगन्ज नगरपालिका ७ का ७० वर्षीया पुरुषको बुधबार नै निधन भएको हो। मुटु तथा मधुमेह रोगका बिरामी उनको वीरगञ्जको निजी अस्पतालमा निमोनियाको उपचार गर्दै गर्दा साउत ८ गते कोरोना पुष्टि भएको थियो। उनको बुधबार बिहान ११ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो। उनमा साउन १४ गते मात्र कोरोना पुष्टि भएको थियो।
त्यसैगरी पर्साकै वीरगञ्ज महानगरपालिका ५ का ६८ वर्षीय पुरुषकोसमेत बुधबार नै निधन भएको हो। साउन ७ गते कोरोना पुष्टि भएका उनी मिर्गौला पीडित थिए। साउन १३ गते नारायणी अस्पतालको आइसोलेसनमा राख्न नसकिएपछि उनलाई नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०२ जनाको पीसीआर नमुना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ पुगेको छ। यस्तै आइसोलेसनमा ५ हजार २ सय २७ जनाको उपचार भइराखेको छ ।
Categorized in राष्ट्रिय