STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरपालिका विशेष बैठक कोरोना रोकथाममा केन्द्रित

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार

विजयरत्न काठमाडौं – काठमाडौँ महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग माग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा जेठ ४ गते बसेको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम नरोकिएकोले काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएको र यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले एक विज्ञप्ति जारी गरी लकडाउनको अवधिमा अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाईरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन पनि सरकारसँग अनुरोध गर्ने जनाइएको छ । लकडाउनको उलंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न सरकारसँग अनुरोध गर्ने निर्णय भएको डंगोलले जनाएका छन् । नेपाल सरकारबाट जारी कोेरोना भाइरस (कोभिड१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न र आवश्यकतानुसार सःशुल्क क्वारेन्टाइन समेत सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई अनुरोध गरिने पनि विज्ञप्तिमा जनाइएको छ । यसैगरी, सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरिने पनि विज्ञप्तिमा उल्लेख छ । अनुमतिपत्र (पास) बाट काठमाडौं प्रवेश गर्ने व्यक्तिको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएकोले सम्बन्धित निकायले पास जारी गर्दा नै निजहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नं. र घरधनीको नाम सहितको विवरण लिनुपर्ने र सो विवरण काठमाडौं महानगरपालिकालाई सम्वन्धित कार्यालयलाई उपलब्ध गराउने आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई लेखिपठाउने विज्ञप्तिमा उल्लेख छ । असहाय व्यक्तिहरु वाहेक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु र बेरोजगारको लागि तोकिए बमोजिम श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्ने ब्यवस्थागर्न कार्यविधि तयार गरी कार्यन्वयन गर्ने निर्णय उक्त बैठकले गरेको जनाइएको छ । यसैगरी, विज्ञप्तिमा लकडाउनको समय चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रलायलाई अनुरोध पनि गरेको छ । लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसल वाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने भएको छ । यसैगरी, काठमाडौं महानगरपालिकाका सबै वडा समितिहरुले लक डाउनको अवधिमा विदेश÷उपत्यका वाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिको विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुकोे निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले प्रशासन विभागमा पठाउने भएको छ । कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट भएका समग्र कार्यहरुको अनुगमन गरी सोको प्रतिवेदन नियमित रुपमा प्रमुख समक्ष पेश गर्न काठमाडौं महानगरपालिकाको अनुगमन समितिलाई निर्देशन दिने विज्ञप्तिमा जनाइएको छ ।
Categorized in राष्ट्रिय