कामपा १७ वडामा ३० बेडको आइसोलेसन वार्ड सुरु
Janjati Khabar – निश्चल | २०७८ जेठ ३, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिका १७ वडा क्षेत्रपाटीबाट ढल्को जाने बाटोमा रहेको पुरानो गोर्खा अस्पतालमा ३० बेडको आइसोलेसन वार्ड खोलिएको छ ।
आज सोमबार नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा सो वार्डको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा काठमाडौं ७ नं. क्षेत्रका सांसद एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १७ वडाका वडाध्यक्ष नवीन मानन्धरले कोरोना महामारीको समय जनस्तरबाट गर्न सकिने कार्यको रुपमा तत्कालको लागि ३० वटा बेडसहितको आइसोलेसन वार्ड खोलिएको जानकारी दिएका थिए ।
सो आइसोलेसन वार्ड नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा निर्माण भएको हो ।
आज उद्घाटित सो वार्डमा आजै आठजना कोरोना संक्रमति वडाबासी भर्ना भएका छन् ।


