कार्यवाहक राजदूत युजोद्वारा बिदाइ
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार
नेपालका लागि जापानी कार्यवाहक राजदूत युजो योशिओकाले जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न जापान जान लागेका नेपाल सरकारका २० जना अधिकारीलाई आज यहाँ बिदाइ गर्नुभयो । जापान सरकारद्वारा मानव स्रोत विकास कार्यक्रमअन्तर्गत सन् २००० मा स्थापित यस छात्रवृत्ति कार्यक्रममा नेपाललाई पनि सन् २०१६ देखि समावेश गरिएको हो । यसअन्तर्गत हरेक वर्ष नेपाल सरकारका राजपत्राङ्कित श्रेणीका २० जना अधिकृत जापान जाने गर्दछन् ।
जापानका विभिन्न विश्वविद्यालयमा अर्थशास्त्र तथा औद्योगिक नीति, मानव स्रोत क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध, न्याय प्रणालीलगायतका विषयमा स्नातकोत्तर अध्ययनका लागि दिइँदै आएको यस छात्रवृत्तिबाट यसअघि ६० जना नेपाली अधिकृत जापान गइसकेका छन् । एसियाका १५ देशलाई उपलब्ध गराउँदै आएको यस छात्रवृत्तिबाट अहिलेसम्म चार हजार २७० जना सरकारी अधिकारीहरु लाभान्वित भइसकेका छन् ।
सो बिदाइ कार्यक्रममा कार्यवाहक राजदूत युजोले नेपालका युवा तथा प्रतिभावान अधिकृतहरुले जापानका विभिन्न विश्वविद्यालयमा हासिल गर्ने थप ज्ञान र सीपले नेपालको कर्मचारीतन्त्रलाई समयानुकूल परिमार्जन गर्न सहयोग पु¥याउने अपेक्षा जापान सरकारले राखेको बताउनुभयो ।
Categorized in राष्ट्रिय


