STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कास्कीमा कुष्ठरोगी घट्दै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

कास्कीमा कुष्ठरोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्याङ्कअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन् । गत आर्थिक बर्षमा १० हजार जनसङ्ख्यामा शून्य दशमलव ४५ जना पीडित थिए भने चालु आर्थिक वर्षमा यो सङ्ख्या प्रति १० हजारमा शून्य दशमलव ४४ मा झरेको छ । नयाँ बिरामीको दरप्रति एक लाख जनसङ्ख्यामा पाँच दशमलव चार रहेको छ । सरकारले एक लाख जनसङ्ख्यामा एक रोगीमा झार्ने लक्ष्यका साथ कार्य अगाडि बढाएको छ । कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छँ्यु गर्दा रोग सर्ने सम्भावना रहन्छ । उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन् । मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र घिमिरे भन्नुहुन्छ, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दे मांशपेशीलाई कमजोर पार्छ ।” यसको कीटाणुले विस्तारै आफ्नो प्रभाव देखाउने गरेकाले रोगको लक्षण देखिन तीनदेखि पाँच वर्षसम्म र कुनै व्यक्तिलाई सोभन्दा पनि बढी समय लाग्ने गरेको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । कुष्ठरोगको राष्ट्रिय तथ्याङकअनुसार, ६८ प्रतिशत तराईका जिल्ला सो रोगबाट प्रभावित रहेको पाइएको छ । तराईका सबैभन्दा बढी बाँके जिल्ला प्रभावित छ भने झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषालगायत जिल्ला सो रोगबाट पीडित छन् । मुलुकको सात जिल्लामात्र कुष्ठरोगबाट मुक्त रहेको छ । कुष्ठरोगीमा महिलाको तुलनामा पुरुषमा यो रोग बढी देखिएको छ । ६२ प्रतिशत पुरुष यस रोगबाट पीडित छन् । जुनसुकै उमेरका मानिसमा यो रोग लाग्ने गर्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म मानिस यो रोगबाट पीडित भएको देखिन्छ । कुष्ठरोगको उपचार दुई प्रकारले हुनेगर्दछ । पाँसी–बैसिलरी कुष्ठरोगमा छालामा पाँचवटासम्म दाग छ भने ६ महीनाका लागि औषधि दिने गरिन्छ । सोभन्दा बढी अर्थात मल्टि–बेसलरी कुष्ठरोग छ भने एक वर्षसम्म नियमितरूपमा औषधि सेवन गर्नुपर्दछ । कास्की जिल्लाका कुष्ठरोगीमा दुवै प्रकारका रोगी बराबरको हाराहारीमा पाइएको छ । ट्युवरक्युलाइड र लेप्रोमेटस नामक दुई प्रकार कुष्ठरोगमध्ये लेप्रोमेटस बढी घातक हुने कार्यालय प्रमुख घिमिरेले जानकारी गराउनुभयो । कुष्ठरोगको मुख्य लक्षणमा सुनिने, छाला स्पर्श गर्दा अनुभूति नहुने, गिर्खा देखिने, तापक्रम परिवर्तनको महसुस नहुनुका साथै जोर्नीको दुखाइ, नशा क्षतिग्रस्त हुँदै जानु, वजन घट्नु, छालामा घाउ, दाग, कपाल झर्ने र आँखा कमजोर हुने गर्दछ । छालामा लाटो फुस्रो दाग देखिने प्रारम्भिक लक्षण रहेको जानकारी गराउँदै कार्यालय प्रमुख घिमिरे भन्नुहुन्छ, “शङ्कास्पद बिरामीलाई अस्पताल पठाउने र रोगी परिवारका सम्पूर्ण सदस्यको स्वास्थ्य परीक्षण गराउने गरिएको छ ।” समाजमा चेतनाको अभाव अहिले पनि कायम छ । कुष्ठरोगलाई अभिशाप मान्ने गरेकाले पनि रोग नियन्त्रणमा कठिनाइ भइरहेको थियो । तर अहिले ‘यो अभिशाप होइन, रोग हो’ भन्ने मानसिकता बढ्दै गएको छ । यसको समयमा उपचार गराई निरन्तर औषधि सेवन गरेमा रोग पूर्णरूपमा निको हुने विश्वास बढेपछि विगतका तुलनामा रोग लुकाउने प्रवृति घटेको देखिन्छ ।
Categorized in राष्ट्रिय