काेराेना संक्रमणबाट वीरगन्जमा थप दुईकाे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ६, शनिबार
वीरगन्ज – कोरोना संक्रमणबाट वीरगन्जमा थप २ जनाको मृत्यु मृत्यु भएको छ।
पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
डकैला बहुअरीका पुरुषको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको चिकित्सक डा.दिपक कुशवाहाले जानकारी दिए। मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो। भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।
यसैगरी वीरगन्जका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै मृत्यु भएको छ। मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराइ हस्पिटलमा लगेर भर्ना गरिएको थियो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवै मृगौलाले काम गर्न छाडेपछि डायलोशीसको तयारी गर्दा गर्दै अवस्था झन गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति ८ बजे उनको मृत्यु भएको हो ।
यीसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।
Categorized in राष्ट्रिय