काेराेना संक्रमित बढेसँगै काठमाडौंमा कडाइ गरिने
Janjati Khabar – Janjati Khabar | २०७८ पौष २५, आइतबार
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा सुरक्षा मापदण्ड पालनामा कडाइ गरिने भएको छ । कोरोनाको संक्रमणदर एक सातामै बढेर ३ प्रतिशतबाट ७ प्रतिशतमा पुगेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड पालनामा कडाइ गर्ने रणनीति बनाएका हुन् ।
‘जोखिम बढेको छ । संक्रमण बढ्न नदिन अहिले नै पूर्वतयारी गर्न थालेका छौँ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘मापदण्ड पालनामा कडाइ गर्ने, मास्क अभियान चलाउने, परीक्षण र खोपको दायरा बढाउँछौँ । अस्पतालहरूलाई तयारी अवस्थामा राख्छौँ ।'
ललितपुर प्रशासनको पनि कोरोनाको जोखिम बढेको निष्कर्ष छ । ‘जोखिम बढेको छ । थप समीक्षा गर्न बैठक बोलाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘अहिले मापदण्ड पालना नै गर्ने हो । लकडाउनबारे सोचिएको छैन ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीबाट निर्णय भएर आएपछि थप रणनीति बनाउने बताए । ‘मन्त्रालय र सीसीएमसीबाट निर्णय भएपछि थप समीक्षा गर्छौं । त्यसपछि उपत्यकाका तीनै जिल्लाको बैठक बस्छ,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि ओमिक्रोन भेरियन्ट फैलिइरहेकाले सावधानी अपनाउन र तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ ।
Categorized in उपत्यका


