STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किङ्घरियनको ‘किङ्गरी’ बजाउने पेशा हराउँदै

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ५, बिहिबार

बाँकेको सदरमुकाम नेपालगञ्जबाट करीब छ किलोमिटर पूर्वको एउटा गाउँ, करीब अढाइ सय घरधुरी रहेको गाउँको अधिकांश घर माटोका गारो र फुसको छानाले बनेका छन् । गाउँभित्र मुस्किलले तीन मिटरको बाटो छ, बाटोमै जोडिने गरी घरहरु बनाइएका छन् । बिहानपख त्यही साँघुरो बाटोमा कोही भाँडा माझिरहेका हुन्छन्, कोेही दाँत माझिरहेका भेटिन्छन् । गाउँकै बीचमा रहेको सानो चोकमा बिहानैदेखि भीडभाड हुन्छ । चोकमै दर्जन बढी साना पसलहरु छन् । केही पकौडा, समोसाका, केही पान अनि गुटखाका अनि कोही किराना र मासुका पसलहरु । यो नेपालभित्र बाँकेमा मात्र बसोबास रहेको किङ्घरियन जातिहरुको बसोबास रहेको किङ्घरियनपूर्वा गाउँको बिहानी दृश्य हो । कुनै समय गाउँ नै ‘किङ्गरी’ बजाएर गुजारा चलाउँथ्यो जसका कारण उनीहरुको समुदायको नाम नै किङ्घरियन रहन गयो । किङ्गरीलाई किङ्घरियनहरु ‘चिकारा’ पनि भन्छन् । यो काठ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारङ्गीजस्तै आकार भएको एक प्रकारको बाजा हो । किङ्घरियनहरु किङ्गरी बजाउँदै विभिन्न गाउँहरुमा डुलेर पैसा अनि खानेकुरा सङ्कलन गरी ल्याउने र परिवार चलाउने काम गर्थे । अहिले यो पेसा लोप हुँदै गएको छ । किङ्घरियन जातीमा हाल एकमात्र व्यक्ति छन्, सुफी मोहम्मद किङ्घरियन जसले अहिले पनि किङ्गरी बजाएर गाउँ शहर डुल्दै मागेर परिवार पालिरहेका छन् । करीब छ पुस्ता अगाडि किङ्घरियन भारतको राजस्थानबाट नेपाल आएर बाँकेको साविकको पुरैनी गाविसको वडा नं ७ र ८ मा बसोबास गर्ने गरेका किङ्घरियन समुदायका वृद्धहरु बताउँछन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा किङ्घरियनको जनसङ्ख्या करीब एक हजार ३५० रहेको छ । भारतको लखनऊ, बहराइच, गोण्डा, बारबङ्की क्षेत्रमा समेत किङ्घरियन जातिको बसोबास रहेको छ । किङ्घरियन समुदायका ७५ वर्षीय फैज किङ्घरियनले आफ्ना पुर्खाले किङ्गरी बजाएरै परिवार पाल्ने गरेको सम्झिनुभयो । शिक्षा तथा चेतनास्तर अहिले पनि कमजोर रहेको किङ्घरियन समुदायका फैजले भन्नुभयो, “तर अहिलेका धेरै केटाकेटीलाई आफ्नो पुख्र्यौैली पेशाको बारेमा थाहा छ्रैन । अनि माग्ने पेशाको कुरा गर्दा लाज मान्ने गर्छन् ।” किङ्घरियन समुदायका व्यक्तिहरु किङ्गरी बजाएर माग्ने पेशाका साथै राजा–रजौटा हुने समयमा उनीहरुको दरबारमा गएर नाचगान गर्ने, सफेडा, बिरहा तथा बरेठा नाच गीत देखाउने गर्थे । केहीले जङ्गलबाट दाउरा तथा फल टिपेर ल्याएर बेची गुजारा चलाउने गरिरहेका छन् । यो समुदायका तीन जना काम गर्न विदेश गएका छन् भने अन्य युवा पनि फरक पेशातर्फ आकर्षित हुन थालेका छन् । गाउँमै एउटा प्रावि तहको विद्यालय र एउटा मदरसा पनि सञ्चालनमा छ । विद्यालयमा भर्ना भएका २४० किङ्घरियन बालबालिकामध्ये ९४ बालिका छन् । विद्यालयका प्रधानाध्यापक सुमन शाह विद्यालय भर्ना गर्ने र छात्रवृत्ति बाँड्ने बेला मात्र किङ्घरियन बालबालिका विद्यालय आउने गरेको बताउनुहुन्छ । “हामीले अभिभावकसँग छलफल गरेर नियमित विद्यालय ल्याउने प्रयास ग¥यौँ, तर सुधार हुन सकेन”, प्रअ शाहले भन्नुभयो, “अभिभावक नै विद्यालय पठाउन मान्नुहुन्न ।” विद्यालयका अनुसार अहिले पनि किङ्घरियन समुदायमा बालविवाह प्रचलन कायमै छ भने विद्यालय छाड्ने दर पनि २५ प्रतिशतभन्दा बढी छ । बालबालिका शिक्षित नहुनुको एउटा प्रमुख कारण बालविवाह हो । पुरुषप्रधान संरचना रहेको किङ्घरियन समुदायमा बालबालिकाको प्रायः १२ देखि १४ वर्षको बीचमा विवाह हुने गरेको किङ्घरियन समुदायबाट पहिलोपटक एसएलसी पास गरेका राहिल किङ्घरियाले बताउनुभयो । राहिलले भारतबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । हाल नेपाल विद्युत् प्राधिकरणमा कार्यरत राहिल यो समुदायबाट सरकारी जागिर खाने पहिलो व्यक्ति पनि हुनुहुन्छ । हाल उहाँका दुई छोराले एसएलसी पास गरी हाल भारतमा उच्च शिक्षा हासिल गरिरहेका छन् । राहिल र उहाँका दुई छोरा गरी हालसम्म किङ्घरियन समुदायबाट एसएलसी उत्तीर्ण गर्ने तीन जना मात्र हुन् । गाउँमा प्रावि तहसम्म र २ कक्षासम्मको मदरसा मात्र रहेकाले निमावि तहबाट अध्ययन गर्न अर्को गाउँ जानुपर्ने भएकाले पनि विशेषत बालिकाको पढाइ प्रावि तहमै टुङ्गिने गरेको राहिलले बताउनुभयो । “हाम्रा पूर्खाले गाउने, बजाउने र माग्ने पेशा गरे, अहिलेका युवा यो पेशाको साटो मजदुरी, कपडा बेच्ने, दाउरा बेच्ने खालका पेशा गरिरहेका छन् तर शिक्षामा अझै पनि हामी पछाडि छौँ”, उहाँले भन्नुभयो । राहिलकै पहलमा गाउँमै मदरसा स्थापना गरिएको छ । जसमा हाल १९२ विद्यार्थी पढिरहेका छन् । मुस्लिम समुदायभित्रका सीमान्तकृत किङ्घरियनको स्थानीय विवाद समाधानका लागि आफ्नै मान्य समूह अहिले पनि प्रचलनमा छ । तत्कालीन राणा तथा राजाको पालामा समेत किङ्घरियनको मान्य समूहले गाउँका विवाद गाउँमै मिलाउने अभ्यास गर्ने गर्थे । गाउँलेको सहमतिमा चौधरी, नायब र कोतवालको रुपमा मान्य समूह बनाउने गरिन्छ । जसमा कोतवालले गाउँमा सूचना तथा खबर पु¥याउने, नायबले सल्लाह दिने र चौधरीले निर्णय तथा कारवाही गर्ने काम गर्थे । हाल पनि कोतवालको भूमिकामा रहेका ६५ वर्षीय याकुव किङ्घरियाले ‘मान्य’ परम्पराले समुदायको विवाद समुदायमै समाधान गर्न सहयोग पुगेको बताउनुभयो । “कोर्ट कचहरी गर्दा समय र पैसाको बर्बादी हुन्छ, त्यसैले गाउँमै मिलाउने कोसिस गरिन्छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासनको बढ्दो उपस्थितिले अहिले किङ्घरियनपूर्वामा हुने विवाद समाधान मान्य समूहबाट हुन नसकेमा प्रहरीकामा जाने गरिन्छ ।” किङ्घरियन समुदायमा अहिले पनि खासै परिवर्तन आउन सकेको छैन । अहिले पनि किङ्घरियनको शिक्षाको अवस्था, बालविवाह, चेतना तथा सरसफाइको अवस्थामा फेरिएको छैन । सरकारले किङ्घरियनलाई मुस्लिम समुदायको रुपमा गणना गर्ने भएकाले उनीहरुको यकिन सरकारी तथ्याङ्क भेटिँदैन । किङ्घरियन समुदाय मुस्लिम जाति नै भए पनि रहनसहन र चालचलन फरक छ । सरकारले आफूहरुको अस्तित्वलाई जोगाउन र विकासको मूलधारमा ल्याउन लक्षित कार्यक्रम सञ्चालन नगर्दा पहिचान नै लोप हुने खतरामा रहेको किङ्घरियन समुदायको गुनासो छ ।
Categorized in राष्ट्रिय