किन्ने हो आटोपिठो
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार
‘म त गाउँले ठिटो, खाउली आटोपिठो,
तरकारीमा गिठो, लाइदेउ माया मिठो’
गायक वसन्त थापाको गीतले भने झैँ जैविक अर्गानिक खानाका पारखीलाई खुशीको खबर छ । शहरीयालाई रैथाने उत्पादनको स्वाद चखाउन यहाँका एक उद्यमीले जैविक खाद्यान्न पसल शुरु गर्नुभएको छ ।
‘महालक्ष्मी कुटानी पिसानी तेलमिल’ सँगैको पसलमा मकैको आटो, गहुँ, कोदो, जौ र फापरको पिठो उपलब्ध छ । स्थानीय उपभोक्ताबाहेक बागलुङ घुमेर फर्कने जो कोहीलाई घर लैजानै कोसेली पनि हुनसक्छ, ‘अर्गानिक’ आटोपिठो ।
पसलका सञ्चालक सुवासकुमार राजभण्डारीका अनुसार पसल खुलेको बल्ल एक महीना बित्यो । मानिसलाई स्वस्थकर खानामा बानी पार्न आफूले सानो कोसिस मात्रै गरेको सञ्चालक राजभण्डारीले बताउनुभयो । विस्तारै जैविक खानातर्फ मानिसको रुचि बढ्दै गएको उहाँको अनुभव छ ।
पसलमा मकै, कोदो, जौ ताराखोला अर्गलबाट, फापर तमानबाट र गहुँ म्याग्दीको गौश्वाराबाट आउने गर्छ । “सबै लेकको उत्पादन आउँछ”, सञ्चालक राजभण्डारीले भन्नुभयो, “यहाँ ल्याएर गुणस्तर हेरेपछि मिलबाट आटो, पिठो निकाल्छौँ अनि ‘प्याकेजिङ’ गरेर बिक्री गर्छौँ ।”
उपभोक्ताले घरमा लगेको पिठोबाट रोटी, ढिँडोलगायतका परिकार बनाएर खान सक्छन् । मकैको आटो–पिठोको मूल्य प्रतिकिलो रु १२५, फापरको पिठोको रु २१०, कोदोको रु १००, जौको रु १७० र गहुँको रु ६५ छ । यस्तै, जौको सातु प्रतिकिलो रु १८० मा बिक्री गर्ने गरिन्छ ।
“भर्खर शुरु भएकाले माग हेरेर उत्पादन गरिरहेका छौँ”, पसलका कर्मचारी श्याम सलामीले भन्नुभयो, “स्थानीय खाना मन पराउनेहरु बढी आकर्षित छन् ।” कुटानी पिसानी मिल पनि सलामीले नै चलाउँदै आउनुभएको छ । मिल र पसलमा गरी उहाँसँगै तीन जनाले रोजगारी पाएका छन् ।
“रोग सबैभन्दा ठूलो शत्रु रहेछ, निरोगी बन्न स्वस्थकर र विषादीरहित खानाको उपभोग बढोस् भनेर पसल खोलेको हुँ”, सञ्चालक राजभण्डारीले भन्नुभयो । उहाँले गाउँको अन्य उत्पादनलाई पनि बजारीकरण गर्ने योजना बनाउनुभएको छ ।
गाउँका किसानलाई चलेको मूल्य तिरेर खाद्यान्न ल्याउने र थोरै मुनाफा राखेर बेच्ने गरिएको छ । खाद्यान्न पसलमा रु पाँच लाख बढी लगानी भएको छ । कुटानी पिसानी गर्ने यन्त्र, उपकरण खरीदमा बढी खर्च भएको जनाइएको छ । उद्यमी राजभण्डारीकै लगानीमा गत वर्ष महालक्ष्मी तेल उद्योग पनि सञ्चालनमा आएको थियो ।
उद्योगबाट दैनिक १०० लिटरसम्म शुद्ध प्रशोधित तोरीको तेल उत्पादन भइरहेको छ । धवलागिरि क्षेत्रका उपभोक्तालाई लक्ष्य गरी तेल उद्योग सञ्चालनमा ल्याइएको हो । आधुनिक उपकरणजडित जिल्लाकै पहिलो तेल उद्योग भएको उद्यमी राजभण्डारीको जिकिर छ । तोरीको तेल प्रतिलिटर रु ३०० मा बिक्री भइरहेको छ ।
Categorized in राष्ट्रिय


