किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन भेटिए दाता
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २३, बुधबार
झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गर्नुभएको छ ।
विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उहाँले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताउनु भएको थियो । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आउनुभएको छ । बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले किसान विद्राहका नेता चौधरीलाई नगरपालिकाले निःशुल्क आवास बनाइदिने जानकारी दिनुभयो । नगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा नगरप्रमुख शिवाकोटीले चौधरीलाई पुर्जा हस्तान्तरण गर्नुभयो । कार्यक्रममा समाजसेवी तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो । चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २०० गरीब तथा विपन्नलाई आवास निर्माण गर्नेसमेत जनाएको छ ।
Categorized in राष्ट्रिय


