कीर्तिपुरको मेडिकल क्षेत्र विकासका लागि कीर्तिपुर मेडिकल संघ स्थापना
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ आषाढ ८, आइतबार
कीर्तिपुर मेडिकल संघको प्रथम साधारण सभा सम्पन्न
कीर्तिपुर/कीर्तिपुर मेडिकल संघको प्रथम साधारण सभा कीर्तिपुर नगरपालिका वडा नं. ९ नगाउँस्थित बाघभैरव ब्यांक्वेटमा असार ७ गते शनिबार सम्पन्न भएको छ ।
औषधी व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको उक्त साधारणसभामा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता विशिष्ट अतिथिको रुपमा उपस्थित भएकी थिइन् ।

अतिथिको आसनमा कीर्तिपुर प्रहरी वृत्तका निरीक्षक धर्मेन्द्र अकौलिया, औषधी व्यवस्थापन विभागका निरीक्षक किरण बज्राचार्य रहनु भएको थियो ।
कीर्तिपुर मेडिकल संघका अध्यक्ष शितल भुसालको सभापतित्वमा भएको उक्त साधारणसभा प्रमुख अतिथि औषधी व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

कीर्तिपुर मेडिकल संघका सचिव रिता ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको उक्त साधारणसभामा अतिथि प्रहरी वृत्त कीर्तिपुरका निरीक्षक धर्मेन्द्र अकौलियाले लागू औषधी दुर्व्यवसनीलाई अन्त्य गर्न कीर्तिपुर मेडिकल संघमा आबद्ध संघसंस्था एवं प्रहरी वृत्त एक भई जानुपर्नेमा जोड दिनुहुँदै कीर्तिपुर मेडिकल संघले लागू औषधी विक्री वितरण निर्मूल पार्न सहयोगी विना बर्दीवाला सुरक्षाकर्मीको भूमिका निर्वाह गर्नेमा विश्वास रहेको विचार राख्नुभयो ।

कार्यक्रममा अतिथि औषधी व्यवस्थापन विभागया निरीक्षक किरण बज्राचार्यले संस्था स्थापना गर्नुभन्दा पनि निरन्तरता दिनु ठूलो कुरो भएको भन्दै नव गठित कीर्तिपुर मेडिकल संघले कीर्तिपुरबासीलाई उत्कृष्ट सेवा दिनुपर्ने सुझाव दिनुभएको थियो ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले कीर्तिपुरमा संचालित सम्पूर्ण औषधी व्यवसायी संघसंस्थाले नगरपालिकामा व्यवसाय संस्था दर्ता गरी संचालन गर्न सम्पूर्ण औषधी व्यवसायीहरुमा आह्वान गर्नुभएको थियो । उपप्रमुख शाक्यले औषधी व्यवसायमा औषधी सम्बन्धी अनभिज्ञ व्यक्ति पसलमा नराख्न पनि अनुरोध गर्नुभएको थियो ।
मन्तव्य राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि औषधी व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकालले कीर्तिपुर मेडिकल संघले उत्कृष्ट सेवा एवं कीर्तिपुरमा औषधी व्यवसायलाई मजबूत बनाउनु पर्ने विचार राख्नु हुँदै संघलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कीर्तिपुर मेडिकल संघ एक मुनाफारहित, गैर राजनीतिक, जनहितकारी, विशुद्ध सामाजिक संस्थाको रुपमा विकसित हुने जानकारीका साथ संघले स्वास्थ्यकर्मी तथा स्थानीय जनतालाई समय सान्दर्भिक उपचार तथा स्वास्थ्य शिक्षा सम्बन्धी तालिम संचालन, स्वास्थ्य सम्बन्धी बुलेटिन, पात्रो, पत्रिका तथा पर्चाहरु प्रकाशन गरी जनचेतना फैलाउन सहयोग गर्ने एवं महामारीजन्य प्रकोपको समयमा निःशुल्क वा सःशुल्क छिटो छरितो प्रकोप नियन्त्रण एवं उपचार गर्न पहल गर्नेजस्ता विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु पूरा गर्न हरदम तयार रहने जानकारीका साथ प्रतिबद्धता पनि जाहेर गरेको थियो ।

विगत चार वर्षको लामो प्रतिक्षा, कठिन परिश्रम एवं अतुलनीय समर्पणबाट गत बैशाख १२ गते कीर्तिपुर मेडिकल संघलाई औपचारिक रुपमा दर्ता भएको थियो र कीर्तिपुर नगरमा संचालित सम्पूर्ण फार्मेसी व्यवसायीहरुको हकहितको संरक्षण गर्न एवं एकताबद्ध भई फार्मेसी व्यवसायमा देखिएका समस्याहरु समाधान गर्न हित समूहको रुपमा कार्य गर्न कीर्तिपुर मेडिकल संघ स्थापना गरिएको जानकारी पनि कार्यक्रममा दिएको थियो ।

यस्तै कीर्तिपुर मेडिकल संघका उपाध्यक्ष सुर्जमान रंजितले कीर्तिपुर नगरभरी करिब ८० वटा औषधी व्यवसायी फार्मेसी रहेको र हालसम्म संघमा ४५ वटा औषधी व्यवसायी दर्ता भएको जानकारी दिनुहुँदै सम्पूर्ण औषधी व्यवसायी फार्मेसीहरु संघमा आबद्ध गराउने पाईला निरन्तर चालिरहने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

कार्यक्रममा कीर्तिपुर मेडिकल संघमा आबद्ध भएका साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो भने साधारणसभाका लागि सहयोग गर्ने संघसंस्थालाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
साधारणसभा पछि बन्द सत्र भएको कीर्तिपुर मेडिकल संघको उक्त कार्यक्रम स्मृति थापाले संचालन गर्नुभएको थियो ।

photo : Kirtionline
Categorized in स्वास्थ्य-मौसम


