कीर्तिपुरमा तनाव : कोरोना आशंकितलाई टोलबाहिर लैजान माग, प्रहरीसँग भनाभन
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार
ललेन्द्र शाक्य
कीर्तिपुर – केही दिनअघि कोहलपुर अस्पतालबाट जाजरकोटका गर्भवती महिला र उनका श्रीमान् कीर्तिपुर तःननि टोलमा बस्न आएपछि स्थानीय त्रसित बनेका थिए । स्थानीयको विरोधपछि भोलिपल्टै उनीहरुलाई परीक्षणको लागि अस्पताल लगिएको थियो । तर अस्पतालबाट विना कुनै परीक्षण ती दम्पत्ति आइतबार पुनः तःननि टोलमा डेरागरी बस्ने बहिनीकोमा बस्न आएपछि तनावको स्थिति सिर्जना भएको छ । लकडाउनको समय तथा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले एक जिल्लाबाट अर्कोे जिल्लामा जान रोक लगाएको थियो । सरकारको बन्देजबावजुद जाजजरकोटबाट एम्बुलेन्समा ती दम्पत्ति काठमाडौं आइपुगेका थिए । स्थानीयले ती दम्पत्तिलाई आइतबार नै क्वारेन्टाइनमा राख्नुपर्ने, आफ्नो टोलबाट तिनलाई बाहिर निकाल्नुपर्ने माग राखेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन आइतबार रातभरिको लागि तःननि टोलमा प्रहरी तैनाथ गरिएको छ । स्थानीयका अनुसार घटनाबारे बुझ्न कीर्तिपुरका मेयर रमेश महर्जन तःननि पुग्नुपर्ने भए पनि कार्यव्यस्तताका बावजुद महर्जन सोमबार बिहान मात्र पुग्ने भएका छन् । आइतबार नै ती दम्पत्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने मागमा स्थानीय अडिग भएपछि प्रहरीसँग पनि भनाभन भएको थियो । क्वारेन्टाइनमा नलाने भए प्रहरी कार्यालयमै लैजान, तर आफ्नो टोलबाट बाहिर लान स्थानीयले माग गरेका छन् । घटनालाई नियन्त्रणमा लिन आइतबार साँझ सयौंको संख्यामा प्रहरी घटनास्थल पुगेका छन् । यो समाचार लेखिरहुन्जेलसम्म पनि तनावको स्थिति कायमै छ । सरकारी बल प्रयोग गरी स्थानीयको मागलाई निरुत्साहित बनाउन सयौंको संख्यामा प्रहरी उतारेको आरोप पनि स्थानीयले लगाएका छन् । Categorized in राष्ट्रिय


