STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा लाखे नाच : विसंगति र विकृति

Janjati Khabar – LALENDRA SHAKYA | २०७९ श्रावण २५, बुधबार

कीर्तिपुर/जहाँ नेवार समुदायको बस्ती हुन्छ, त्यहाँ लाखे नाच पनि रहेको हुन्छ । यही नाचबाट नेवार समुदायको महत्व, मौलिकता र परिचय दिइरहेको छ । जुगौंसम्म यो परम्परा जीवित रहीरहने छ ।

कीर्तिपुरको सन्दर्भमा, सदियौंदेखि दुईटा लाखेलाई प्रमुखता दिई सक्कली लाखेको रुपमा लिदै आइरहेको छ । कीर्तिपुरको पश्चिमपट्टिको क्षेत्रमा रहेको कीर्तिपुर नगरपालिका २ वडास्थित देवढोका टोलको लाखे र पूर्वपट्टि अवस्थित भरियाँपुखू–तुँझ्वः टोलमा रहेको लाखेलाई कीर्तिपुर  नगरीको पुरानो एवं सक्कली लाखेको रुपमा लिदै आइरहेको छ ।

देवढोकाको लाखेलाई ‘कोतःझाःया लाखे’ भनिन्छ भने यो लाखेलाई नारी लाखेको रुपमा पनि लिइन्छ । त्यस्तै, तुँझ्वःको लाखेलाई ‘जिफाःगःया लाखे’ भनिन्छ भने यो लाखेलाई पुरुष लाखेको रुपमा लिइन्छ ।

संस्कृति विकासको क्रममा कीर्तिपुरका विभिन्न टोल टोलमा विधिवत् रुपमा पूजाआजा गरी लाखे नाचको स्थापना गरेको पाइन्छ । संस्कृति विकास एवं सम्बद्र्धनको हिसाबमा यो सकारात्मक पक्षको रुपमा लिन सकिन्छ र यस्तो अमूर्त संस्कृति जगेर्नाको लागि प्रत्येक टोलमा लाखे नाचको आवश्यकता पनि देखिन्छ ।

तर, हाल आएर विगत केही वर्ष अगाडिदेखि कीर्तिपुरनगरीमा लाखे नाचमा विकृति र विसंगतिले ठाउँ ओगटेको देखिन्छ । लाखे नाच विशुद्ध नेवार समुदायको मौलिक एवं ऐतिहासिक नाच हो, यो इतिहासले पनि बताएको छ र हालसम्म जिउँदो अवस्थामा रहेको उक्त लाखे नाचले पनि देखाउँछ ।

तर, विडम्वना, हाल आएर  गैरनेवार समुदायका धेरै जमातले कीर्तिपुरको मूल सडकदेखि लिएर गल्ली–गल्ली, चोक–चोक, बस्ती–बस्तीमा लाखे नाच प्रदर्शन गर्दै आइरहेको छ । बाटोमा हिड्ने बटुवादेखि सवारीसाधनलाई अवरोध गर्दै लाखे नाच प्रदर्शन गर्दै आइरहेको छ ।

हो, यस लाखे नाप प्रदर्शनको क्रममा बस्तीभित्रको घर–घरको झ्यालमा हेरी लाखेले हात अगाडी बढाई पैसा माग्ने चलन छ, अनि ती बस्तीभित्रका घर–घरको झ्यालबाट दक्षिणा स्वरुप लाखेलाई पैसा दिने चलन रहँदै आइरहेको छ । तर, नेवार समुदायमा यसरी पैसा लिने पक्षलाई नियाल्ने हो भने गुथि, दाफा खलः, बाँसुरी खलः इत्यादी संचालनको लागि सहयोगको रुपमा उक्त पैसालाई प्रयोग गरिन्छ र गर्दै आइरहेको पनि छ । लाखे नाच विभिन्न गुथि, दाफा खलः एवं बाँसुरी खलःले विधिवत् रुपमा पूजाआजा गरी प्रदर्शन गर्दै आइरहेको अमूर्त संस्कृति हो नेवार समुदायमा । नेवार समुदायको लाखे नाचमा पैसा बटुल्ने पाउँने देखेर हाल आएर गैरनेवार समुदायका विभिन्न समूहले पैसा कमाउने अस्त्रको रुपमा लाखे नाच प्रदर्शन गर्दै आइरहेको छ । यो भनेको कीर्तिपुरको लागि उक्त लाखे नाचको सवालमा विकृति र विसंगति एवं मौलिक संस्कृति सम्पदालाई कुरुप बनाउने एक षड्यन्त्रकारी हतियार सावित हुन आउँछ ।

बजारको प्रत्येक पसल–पसल, बाटोमा हिड्ने बटुवादेखि सडकमा गुड्ने सवारीसाधनहरु रोकी पैसा असुल्ने खेल खेलिरहेका छन् ती ब्यापारिक लाखे र लाखे नाच प्रदर्शन गर्ने समूहले । कीर्तिपुरमा स्थानीय सरकार छ, दाफा गुथि सांस्कृतिक बाजागाजा संरक्षणका विभिन्न संस्थाहरु छन्, स्थानीय बासिन्दा नै छन् भने कीर्तिपुरमा जात्रा पर्व व्यवस्थापन समिति पनि नभएको हैनन् । ती सम्पूर्ण सम्बन्धित निकायहरु मौन बसिरहेको अवस्थाका कारण नै  संस्कृतिमाथि आक्रमण गर्ने भाइरस रुपी ती उत्छृंखल तत्वहरु सक्रिय भइरहेको अवस्था देखिन्छ । बेलैमा यस्ता तत्वलाई उखेल्न सकिएन भने भोलि ती समूहहरुको पनि ध्वंगी विसंगति र विकृतिको संस्कृति विकास भई नेवारहरुको मौलिक संस्कृतिमाथि घातक प्रहार हुनेमा दुईमत देखिन्नँ ।

कीर्तिपुरमा घण्टाकर्ण (गथांमुगः) का दिनदेखि प्रदर्शनमा ल्याई कृष्णजन्माष्टमी कृष्ण जात्रासम्म प्रदर्शन गरिने लाखे नाचको संरक्षणको लागि ती गैरनेवार बाहिरियाले संचालन गरिहरेको लाखे नाचलाई सम्बन्धित निकायले बेलैमा रोक्नु जरुरी देखिन्छ ।

Categorized in उपत्यका