कीर्तिपुर नगरपालिकाको वडाहरु अवलोकन गर्दै नगरप्रमुख महर्जन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार
विजयरत्न असंबरे
शनिबार विदाको दिन भए पनि कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो । कीर्तिपुर नगरपालिका वडा नंं ७ पूरै अवलोकन गर्नु हुँदै सञ्चालन भैरहेको योजनाको जानकारी लिनु भयो भने सम्बन्धित स्थानमै बसेर आवश्यकतानुसार नयाँ योजना बनाउन थाल्नुभयो । नगर प्रमुख महर्जनले भाजंगल (नगाउँबासीहरूको मसानको माथितिर) हालै स्थापना गरेको भगवान गौतम बुद्धको प्रतिमाबाट अवलोकन शुरु गर्नुभएको थियो । यस प्रतिमा स्थलको लागि वडाबाट रु. ५ लाख रुपैंया सहयोग गरेको र त्यसबाट सो प्रतिमाको तलपट्टी एउटा कोठा पनि बनाएको वडा अध्यक्ष राजकुमार मालीले जानकारी गराउनु भयो । नगर प्रमुख महर्जनले भाजंगका महर्जनहरूको दाहसंस्कार गुथिको अबलोकन गर्नुभयो भने त्यहाँबाट विष्णुदेवी मन्दिर, यरवःचा हुँदै स्टील ट्यांकीसम्मै बाटो फराकिलो गर्नुपर्ने, ढल बनाउनु पर्ने र सडक पेटी बनाइरहेको आदिको अबलोकन गर्नुभएको थियो । कीर्तिपुर नगरपालिका वडा नं. ७ को उज्ज्वल स्कूलदेखि ११ मिटर चौडाइको दहन जाने बाटो बनाउने योजना सञ्चालन भैरहेको छ भने उक्त बाटोमा हाल रिटेलिङ्क वाल (पर्खाल) बनाउने काम भैरहेको छ । निरीक्षण भ्रमणमा कीर्तिपुर नगरपालिका वडा नंं १ का अध्यक्ष हर्ष महर्जन, वडा नंं ७ का अध्यक्ष राजकुमार माली, वडा नं. ७ का सदस्यहरू राजकुमार महर्जन, प्रकाश महर्जनका साथै स्थानीयहरूको उपस्थित रहेको थियो । Categorized in उपत्यका


