कीर्तिपुर नपाका एमाले जनप्रतिनिधिहरु केपी ओलीको पक्षमा
Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ श्रावण २४, आइतबार
मेयरद्वारा नगरका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु संस्थापन पक्षमा रहेको घोषणा
कीर्तिपुर नगरपालिकाका नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु संस्थापन पक्ष केपी ओली नेतृत्वको पक्षमा रहेको खुलासा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गर्नुभएको छ ।
कीर्तिपुरको स्थानीय दलको आयोजनामा शनिबार कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ्गको हलमा भएको एक कार्यक्रममा मेयर महर्जनले उक्त जानकारी दिनुभएको हो ।
‘संघीय गणतन्त्र नेपालको वर्तमान परिस्थितिमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मेयर रमेश महर्जनले माधव नेपाल पक्षले पार्टीलाई विश्वासको मत नदिई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा मत दिई देउवालाई प्रधानमन्त्री बन्न सघाएको र माधव नेपाल पक्षले पार्टीमाथि गद्दार गरेको हुनाले आफूहरु नेपाल पक्षमा रहन नसकिने र संस्थापन पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा रहने जानकारी दिनुभएको हो ।

उक्त कार्यक्रममा नेकपा एमालेका नेता एवं उपत्यकाका इञ्चार्ज कृष्णगोपाल श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो भने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एवं नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गर्नुभएका कीर्तिपुरका नेता तथा हाल नेकपा एमालेका केन्द्रीय सदस्य शम्भुराम महर्जन मान्छे विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
कीर्तिपुर नगरपालिकाका प्रवक्ता एवं उपमेयर साथै नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधि सरस्वती रिजाल खड्काद्वारा स्वागत गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रम कीर्तिपुर नगरपालिका ६ वडाका वडाध्यक्ष एवं एमाले जन प्रतिनिधि न्हुच्छेबहादुर महर्जनले संचालन गर्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विशेष अतिथि नेकपा एमाले केन्द्रीय सदस्य शम्भुराम महर्जन मान्छेले आफूले कम्युनिष्ट आन्दोलनमा ४० वर्ष पार गरेको र हाल कम्युनिष्ट आन्दोलनको रक्षार्थ आफू माओवादीबाट एमालेमा प्रवेश गरेको खुलासा गर्नुभएको थियो ।
मान्छेले अबको राजनीतिक पृष्ठभूमिमा सच्चा कम्युनिष्ट आन्दोलनको रक्षा माओवादी एवं माधव नेपाल पक्षले गर्न नसकिने र केवल नेकपा एमालेले मात्र गर्नसक्ने अवस्था सिर्जित भएकोले आफू नेकपा एमालेमा प्रवेश गरेको जानकारी उक्त अन्तरक्रिया कार्यक्रममा दिनुभएको थियो ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर एवं नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधि विद्यासुन्दर शाक्यले आफूहरु जन प्रतिनिधिको रुपमा जितेको पार्टीलाई धोका दिन नहुने पार्टीको मर्यादालाई बचाइराख्नु पर्ने धारणा व्यक्त गर्दै कीर्तिपुर नगरका एमाले जनप्रतिनिधिहरु सहित देशका सम्पूर्ण जन प्रतिनिधिहरु ९५ प्रतिशतका साथ संस्थापन पक्ष पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको जानकारी दिनुभयो ।
‘संघीय गणतन्त्र नेपालको वर्तमान परिस्थितिमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कृष्णगोपाल श्रेष्ठले माधव नेपाललाई एमालेभित्र कुनै स्थान नरहेको ठोकुवा गर्दै नेपाल समूह गद्दार भएको ठहर गर्नुभयो । नेता कृष्णगोपाल श्रेष्ठले नेकपा एमाले फूट नै नभएको र मात्र माधव नेपाल पक्षका एक सानो समूह पार्टीबाट बाहिरिएको जानकारी दिनुभयो । नेता श्रेष्ठले यदि पार्टी टुक्रा नै नभएको अवस्थामा एकता कोसंग गर्ने भनी आक्रोशका भावावेशमा प्रश्न राख्नुभएको थियो । साथै नेता श्रेष्ठले नेपाल समूह नेकपा एमालेमा कुनै दिन विलिन हुन आउने ठोकुवा गर्दै जनप्रतिनिधि एवं समर्थक र कार्यकर्ताहरुलाई कुनै हालतमा पनि विचलित नहुन पनि आग्रह गर्नुभएको थियो ।
Categorized in राजनीति

