STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कृषकलाई आधुनिक मौरी घार  वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । 
नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो । 
 
“पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भन्नुभयो, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीमपश्चात् मौरीसहितको घार वितरण गरेका हौँ ।”
 
किसानहरु मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन उत्सुक हुनेभएकाले नगरपालिकाले तालीममा सहभागी सबैलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेको हो । मौरी गोलासहित प्रतिघार सात हजार पाँच सय पर्ने घारलाई नगरपालिकाले प्रतिघार तीन हजार ७५० रुपैयाँमा किसानलाई उपलब्ध गराएको भिरकोट नगरपालिकाका प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो ।
 
भिरकोट नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त रहेको ठहर गर्दै यसले यहाँका किसानलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाई महको उत्पादनमा वृद्धि गर्ने मुख्य उद्देश्यले नगरपालिकाले किसानलाई आधारभूत तालीम तथा मौरी घार वितरण गरिएको नगरप्रमुख खनालले बताउनुभयो ।
  
नगरपालिकाले मौरी सहकारी दर्ता गर्नका लागि पहल गरिदिने र सोही सहकारीमार्फत तालीम तथा खरीद–बिक्रीको व्यवस्था मिलाउने प्रक्रियाको थालनी गरेको नगरप्रमुख खनालको भनाइ छ । 
 
परम्परागतरुपमा मुढे घारमा मौरीपालन गर्नुभएका किसानलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्ने, भिरकोट नगरभित्र रासायनिक विषादीको प्रयोगमा न्यूनीकरण गर्दै भिरकोट नगरपालिकालाई मौरी जोनका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएका प्रमुख खनालले बताउनुभयो । नगरपालिकाले अहिलेसम्म ५० प्रतिशत अनुदानमा १६४ किसानलाई मौरी घार वितरण गरिसकेको जनाएको छ । 
Categorized in राष्ट्रिय