कोरोनाका कारण कालिमाटी बजार बन्द
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २८, मंगलबार
काठमाडौँ - कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो।
समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द गरिने भएको छ।
‘कृषक बजार मंगलबारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधबारदेखि बन्द हुने छ,’ समितद्वारा जारी सूचनामा भनिएको छ।’
थोक बजारमा प्याकेजिङ गरेर भने बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम २ जना बसी सामाजिक दुरी कायम गरेर बिक्री वितरण गर्न आग्रह गरिहेको छ।
बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन।
ठूला कृषकहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्नेछन्।
यसअघि भने बजार बिहान ३ बजेदेखि ९ बजेसम्म खोल्न दिइएको थियो।
Categorized in बिजनेस

