कोरोनाबाट मृत्यु भएकी महिला टोखामा बस्थिन्
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिला काठमाडौं टोखामा बस्दै आएकी समाचार प्राप्त भएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि मात्र श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।
मृतक त्यसयता टोखामा कोठा भाडामा लिएर बस्दै आएकी र ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।
वैशाख २३ गते उनीलाई टोखाबाटै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको र छोरालाई जन्म दिएपछि २५ गते डिस्चार्ज भएका थिए । डिस्चार्ज भएपछि उनी आफ्नै गाउँमा गएको जनाइएको छ ।
शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना देखिएको थियो । मृतक महिलालाई अस्पतालबाटै कोरोना संक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
Categorized in राष्ट्रिय