STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्यान्सर पीडितलाई आर्थिक सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि  रकम प्रदान गरिएको छ ।  भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उहाँलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार  उहाँकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गर्नुभएको हो । 
 
वडाध्यक्ष लामिछानेले भन्नुभयो, “क्यान्सर पीडित रेग्मीको उपचारार्थ सहयोग सङ्कलन अभियानलाई स्थानीयस्तरमा समेत जारी राखेका छौँ”, रेग्मीकी श्रीमती अप्सराले घरको अवस्था नाजुक रहेकाले आफ्ना श्रीमान्को उपचारमा सहयोग गर्न आग्रह गर्दै उपचारका क्रममा धेरै  रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको  बताउनुभयो ।
पर्यटकीय क्षेत्रलाई साढे तीन करोड
केन्द्रीय सरकारले तनहुँका नौ पर्यटकीय क्षेत्रलाई रु तीन करोड ५८ लाख बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ का विभिन्न पर्यटकीय योजनालाई उक्त बजेट विनियोजन भएको हो ।
आगामी आर्थिक वर्षमा खर्च हुने गरी व्यास नगरपालिका–४ को तनहुँ कालिका शहीद शान्ति उद्यानलाई रु ५० लाख, बन्दीपुर पर्यटन पूर्वाधार विकासका लागि रु ५० लाख, विमलनगरस्थित चुनपहरामा निर्माणाधीन मगर जातिको सङ्ग्रहालयका लागि रु ३० लाख, भानु सङ्ग्रहालयमा रहेको भानु प्रतिष्ठानका लागि रु १५ लाख, भानु जन्मस्थल विकास समितिलाई रु १८ लाख, मिर्लुङ पर्यटकीय पूर्वाधार विकासका लागि रु २० लाख विनियोजन गरिएको छ ।
त्यस्तै भानु नगरपालिका–५ स्थित भानु शिखर कटेरी धर्मशाला निर्माणका लागि रु ६० लाख, व्यास नगरपालिका–१० बैरेनीको दरै सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि रु २५ लाख र देवघाट क्षेत्र विकास समितिअन्तर्गत धार्मिक तथा पर्यटकीय पूर्वाधार विकासका लागि रु ८० लाख विनियोजन गरिएको छ ।
Categorized in राष्ट्रिय